गिताकुमारी बस्याल
साउन१,२०७८ गुल्मीः इश्माका पहिरो पीडितका लागि मुख्यमन्त्री ग्रामीण बिकास तथा रोजगार कार्यक्रम मार्फत घर बनेका छन् ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्री ग्रामीण बिकास तथा रोजगार कार्यक्रम मार्फत पहिरो पीडित १० घरपरिवारलाई घर बनाउनका लागि दूई लाख ५० हजारका दरले रकम उपलब्ध गराइएको कार्यक्रमका फोकल पर्सन हरिप्रसाद घिमिरेले जानकारी दिए ।
गत बर्षको पहिरोमा परी उनीहरु पीडित भएको र घर नभएका कारण उनीहरुलाई घर निर्माण गर्नका लागि रकम उपलब्ध गराइएको कार्यक्रमका सहजकर्ता राजन घिमिरेले बताए ।
इश्मा गाउँपालिका वडा नम्बर एक मल्दीका टेकबहादुर सारु,सुर्यबहादुर सिंजाली,बोमबहादुर महत, गुर्वाका लोके कुमाल, इश्मा गाउँपालिका वडा नम्वर दूई रातचौरका गंगाबहादुर कुमाल,दलबिर कुमाल,पालुखाका गोपाल बिश्वकर्मा,वडा नम्बर चार रातपानीका मानबहादुर घर्ती,लुसेपानीका धनबहादुर घर्ती र अर्मजाका धनबहादुरको घर निर्माण भएको छ ।
गत बर्ष गएको पहिरोका कारण घर भत्किएर त्रिपाल मुनी बस्दै आएका मल्दीका लोके कुमालले नयाँ घर बनेपछि खुसी ब्यक्त गरे । सधै त्रिपाल मुनी नै बास बस्नुपर्ने होकी भन्ने लागेको थियो ,मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम मार्फत घर बनेपछि कार्यक्रम र गाउँपालिका प्रति उनले आभार प्रकट गरे । मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम मार्फत घर बनेपछी स्थानीय सरकार दुःखीहरुको साथमा रहेको अनुभूती भएको पीडितहरुले बताएका छन् ।
उनीहरुलाई दुई लाख ५० हजारका दरले खातामा जम्मा गरिदिने गाउँपालिकाले जनाएको छ ।