म्याग्दीका सिडिओले पत्रकारलाई धम्की दिए, भनें :मैले चिनिनँ

0
566

असार७,२०७८म्याग्दी : ​समाचार संकलनका लागि जिल्ला प्रशासन कार्यालयमा पुगेका पत्रकारमाथि म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले दुर्व्यवहार गरेका छन्।

पत्रकार साधन राम्जाली र धीरनबहादुर खत्रीमाथि आइतबार प्रजिअ अधिकारीले समाचार संकलनमा रोक लगाएका हुन्।

द्बन्द्बपीडित अधिकार समाज म्याग्दीको ज्ञापनपत्र बुझाउने कार्यक्रमको समाचार संकलनका लागि उनीहरू जिल्ला प्रशासन कार्यालय पुगेका थिए। प्रजिअ अधिकारीले समाचार, तस्बिर र दृष्य संकलन गर्न रोक लगाई कार्यकक्षबाट समेत निकालेका थिए।

साथै उनले धम्कीपूर्ण भाषा प्रयोग गरेका म्याग्दी न्युज डटकमका प्रकाशक समेत रहेका पत्रकार राम्जालीले बताए। नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका सहसचिव राम्जाली आदर्शसमाज दैनिक, म्याग्दी न्युज डटकमलगायत संचारमाध्यम र साधारण सदस्य खत्री कारोबार दैनिक, एभिन्युज टेलिभिजन, समृद्ध साप्ताहिक, कोरला पोस्टमा आबद्ध छन्।

‘आयोजकले ज्ञापनपत्र पढ्न थालेपछि तस्बिर र दृष्य खिच्न क्यामेरा निकाल्दा प्रजिअले कसको अनुमतिमा खिच्नुभयोरु अनुमतिबिना मेरो कार्यकक्षमा खिच्न मिल्दैन। बाहिर जानुहोस् भन्दै धम्काउनुभयो’,राम्जालीले भने, ‘हामीले परिचय दिँदा पनि अपमानजनक व्यवहार गरेर धम्काउँदै कार्यकक्षबाट निकाल्नुभयो।’

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगमार्फत द्बन्द्बपीडितका समस्या समाधान तथा माग सुनुवाइका लागि द्बन्द्बपीडित अधिकार मञ्च म्याग्दीका सचिव सुरेन्द्र केसी र द्बन्द्बपीडित कृष्णलाल श्रेष्ठको नेतृत्वमा ज्ञापनपत्र बुझाउन उनीहरू गएका थिए।

प्रजिअले समाचार संकलनका लागि गरेको अवरोध र पत्रकारहरुलाई गरेको दुर्व्यवहारको नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले भर्त्सना र निन्दा गरेको छ। शाखा सचिव सन्तोष गौतमको हस्ताक्षरित विज्ञप्तिमा प्रजिअ अधिकारीबाट भएको गैरजिम्मेवारपूर्ण व्यवहार तथा कार्यशैली सच्याउन माग गरिएको छ।

‘पत्रकारले स्वतन्त्र हिसाबले समाचार संकलन गर्न, नागरिकले सूचना पाउने अधिकारको संरक्षण, पारदर्शिता, सुशासन कायम गर्ने वातावरण बनाउन जोडदार माग गर्दछौं, सचिव गौतमले भने, ‘प्रजिअको व्यवहार आपत्तिजनक छ।’

पत्रकारलाई भएको दुर्व्यवहारप्रति म्याग्दी मिडिया सोसाइटी, नेपाल प्रेस युनियन र प्रेस संगठन नेपालले पनि विरोध र आपत्ति जनाएका छन्। प्रजिअ अधिकारीले भने पत्रकारलाई नचिनेर युट्युबर ठानेर अनुमति मागेर तस्बिर खिच्न अनुरोध गरेको प्रतिक्रिया दिएका छन्। थाहाबाट

SHARE