असार२६,२०७८इलाम : कोभिडका कारण मृत्यु भएका परिवारलाई देउमाई नगरपालिकाले राहतस्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ। नगर कार्यपालिकाको बैठकले आर्थिक वर्ष २०७८र७९ को नीति तथा कार्यक्रममा नगरबासीको मृत्यु भए उक्त रकम दिने निर्णय गरेको हो।
नगरपालिकाका प्रमुख सूर्यप्रसाद पोख्रेलले यो यस वर्षको नयाँ कार्यक्रम भएको बताए। नगरपालिकाले नयाँ कार्यक्रमका रुपमा देउमाइलाई अपाङ्तामैत्री घोषणा गरेर अपाङ्ता भएका पहेलो कार्ड भएका व्यक्तिलाई मासिक ५०० रुपैयाँ दिने निर्णय गरेको छ।
नगरपालिकाले एकल पुरुषलाई समेत भत्ता दिँदै आएको छ। साथै, ४५ वर्ष उमेर नाघेका अविवाहित महिलालाई मासिक एक हजार रुपैयाँ भत्ता उपलब्ध गराउने भएको छ। यौनिक अल्पसंख्यकलाई पनि मासिक एक हजार रुपैयाँ भत्ता उपलब्ध गराउने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ।