मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम मार्फत रेसुंगाका अति विपन्न सात परिवारका लागि घर

0
523

तिलाचन पाण्डे
असार २३,२०७८गुल्मीः जिल्लाको रेसुंगा नगरपालिका भित्रका सात जना अति विपन्न परिवारले घर पाउने भएका छन् ।
मुख्यमन्त्री ग्रामीण बिकास तथा रोजगार कार्यक्रम मार्फत अति विपन्न सात परिवारका घर निर्माणको कार्य अन्तिम चरणमा पुगेको नगरपालिकाका सूचना अधिकारी शंकरप्रसाद गौतमले जानकारी दिए ।
उनीहरु आर्थिक हिसाबले कमजोर र घरको अबस्था दयनीय भएकाले उनीहरुको घर निर्माण गरिदिएको हो । उनीहरुलाई प्रति घर तीन लाख रुपैयाँका दरले उपलब्ध गराइने गौतमले बताए ।
नगरपालिकाको वडा नम्बर चार रैदीका झबिन्द्र दमै, वडा नम्वर नौ बजियानाकी तारा बिश्वकर्मा,वडा नम्वर तीन बुढीचौरका रुक्मागत दमै, वडा नम्वर नौ खालाचौरकी हुमकला आचार्य, वडानम्वर दश सिमीचौर तक्नामका मधु आचार्य, वडा नम्वर सात भुजेलखर्ककी खिमकला सुनार र वडा नम्वर दश मैदानकी हेमा कुँवरको घर निर्माणको कार्य भएको कार्यक्रमका सहजकर्ता राजन घिमिरेले जानकारी दिए ।
मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम मार्फत नयाँ घर पाएपछि उनीहरु खुसी भएका छन् । आर्थिक रुपमा कमजोर भएपनि स्थानीय सरकार र राज्य आफूहरुको साथमा रहेको अनुभूती भएको उनीहरुले बताएका छन् ।

वडाको सिफारिसका आधारमा उनीहरुको घर निर्माण गरिदिएको नगरपालिकाले जनाएको छ ।
मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम मार्फत कृषकहरुलाई पाँच सय लिटरका ट्याङकी, विभिन्न सीपमुलक तालिम प्रदान लगायतका कार्यहरु गर्दै आएको घिमिरेले बताए ।

SHARE