गिता पाण्डे
असार२२,२०७८ गुल्मीःमालिका गाउँपालिकाले ४० जना शिक्षकहरुलाई स्नातकोत्तर तह (मास्टर डिग्री) निशुल्क रुपमा पढाउने भएको छ ।
स्नातक तह पास गरेका ४० जना शिक्षकहरुलाई निशुल्क रुपमा स्नातकोत्तर तह पढाउने गरी रेसुङगा बहुमुखी क्याम्पससंग सम्झौता गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले जानकारी दिए ।
शिक्षामा गुणस्तरता ल्याउनका लागि गाउँपालिकाले शिक्षक पढाउने रणनीति लिएको भण्डारीको दाबी छ । शिक्षकहरु शिक्षीत भएमा मात्र शिक्षामा गुणस्तरता आउने भन्दै पहिले शिक्षकहरुलाई नै पढाउन लागिएको गाउँपालिकाले जनाएको छ ।
पहिलो बर्ष गाउँपालिकाले ४० जना शिक्षक पढाउनका लागि दूई लाख रुपैयाँ रेसुंगा बहुमुखी क्याम्पसलाई प्रदान गर्दै सम्झौता भएको भण्डारीले जानकारी दिए ।
शिक्षकहरु दक्ष भएमा मात्र गुणस्रीय शिक्षा प्रदान गर्न सकिने भएकाले यस कार्यक्रमलाई निरन्तरता दिइने गाउँपालिकाका प्रबक्ता एवं वडा नम्वर ६ का वडाअध्यक्ष शोभाखर गिरीले दाबी बताए ।
शिक्षकहरुलाई मात्र नभई अन्य स्नातक गरेका बिद्यार्थीहरु पनि यस कार्यक्रममा सहभागी हुन सक्ने गिरीको भनाई छ।
यस्तै गाउँपालिकाले पुराना शिक्षकहरुबाट गुणस्तरीय शिक्षा प्राप्त हुन नसक्ने निष्कर्ष पनि निकालेको छ ।
शिक्षक पेशाबाट पेन्सन पाकेका तर उमेर हदबन्दी नलागेका शिक्षकहरु यदि स्वच्छिक रुपमा अबकास लिन चाहेमा उनीहरुलाई ५०हजार नगद सहित सम्मान गरी बिदाई गर्ने पनि गाउँपालिकाले जनाएको छ ।
स्वच्छिक रुपमा अकास लिन चाहने शिक्षकहरुलाई सम्मानजनक रुपमा बिदाई गर्ने कार्यक्रमका लागि पनि बजेटको ब्यबस्थापन गरेको गाउँपालिकाले जनाएको छ ।
मालिका गाउँपालिका भित्र ५४ वटा सामुदायिक बिद्यालयहरु रहेका छन् ।