स्वास्थ्य शिविरबाट ५ सय ९० जनाले लिए सेवा

0
382

गुल्मी, कार्तिक २० गते । जिल्लाको गुल्मीदरबार गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएपछि त्यहाँका स्थानीयहरु (गाउँपालिकाबासी) निकै नै खुसि भएका छन । पहिले गाउँबाट बुटवल काठमान्डौ जाँदा धेरै मात्रामा खर्च हुने भएकोले स्वास्थ्य शिविरबाट गाउँमै आफ्नो स्वास्थ्य परिक्षण गराउँन पाउँदा स्थानीयहरु निकै नै हर्सित देखिएका थिए ।

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको आयोजना, गुल्मीदरबार गाउँपालिकाको व्यवस्थापन तथा सिद्धबाबा लुम्बिनी प्रादेशिक अस्पताल र हस्पिटल एण्ड रिसर्च सेन्टरको प्राबिधिक सहयोगमा बृहत निःशुल्क स्वास्थ्य शिविर गाउँपालिकाको वडा नं. ६ मा रहेको ईश्वरी माध्यमिक विद्यालयमा सञ्चालन गरिएको थियो । स्वास्थ्य शिविर एक दिन मात्र चलेको समाजका उपाध्यक्ष उषा खत्रीले जानकारी दिईन । उपाध्यक्ष खत्रीका अनुसार स्वास्थ्य शिविरमा मुटु, दम, छाती, फोक्सो, पेट, सुगर, मृगौला, स्त्री रोग तथा बालरोगको उपचार गरिएको गरिएको थियो । उनले भनिन–“लगभग हामीले सबै रोगको उपचार गर्ने गरि यहाँबाट विशेषज्ञ डाक्टरहरुको समूहसहित गएका थियौं ।”

स्वास्थ्य शिविरबाट ५ सय ९० जना सेवाग्राहीहरु लाभाम्वित भएको गाउँपालिका स्वास्थ्य संयोजक नारायण अर्यालले जानकारी दिए । उनका अनुसार महिला ४ सय २५ र पुरुष १ सय ६५ जना रहेका थिए ।

अत्याधिक मात्रामा महिला बिरामीहरु देखिएका थिए । सामान्य हाडजोर्नी दुख्ने, स्त्री रोग (महिलाको समस्या) भएका बिरामीहरुको सङ्ख्या अत्याधिक मात्रामा रहेको समाजका अध्यक्ष हुमनाथ ज्ञवालीले बताए । घरबाट बाहिर निस्कन नसक्ने बृद्ध बुवाआमा, त्यहाँ रहेको स्थानीय स्वास्थ्य चौकीसम्म पनि जान नसक्ने, बुटवल–काठमान्डौ सम्म पनि पुग्न नसक्ने आर्थिक रुपले अत्यन्तै कमजोर भएका त्यहाँका स्थानीय गाउँपालिका बासीलाई केही हदसम्म सहयोग होस भनि यो शिविर सञ्चालन गरिएको अध्यक्ष ज्ञवालीको भनाई रहेको छ ।

जन्मस्थान गुल्मी चारपाला र कर्म स्थान रुपन्देही भएता पनि हामीले जन्मस्थानमा केही गर्नुपर्छ भन्ने उद्ेश्यले यो संस्थाको स्थापना गरिएको हो, त्यसै अनुसार हामीले यो स्वास्थ्य शिविरको पनि आयोजना गरिएको बताईएको छ । त्यहाँ निःशुल्क औषधि पनि वितरण गरिएको समाजले जनाएको छ । ७० वर्ष काटेका बृद्धहरुलाई विशेष प्राथमिकताका साथ उपचार गराईएको थियो । २०७५ साल चैत्र महिनामा यो समाजको स्थापना भएको थियो । यस्तै अन्य विभिन्न स्थानीय गुल्मीदरबार गाउँपालिका बासीलाई सहयोग हुने खालका कामहरु यो समाजले गर्दै जाने समाजका अध्यक्ष ज्ञवालीले बताए । आगामी दिनहरुमा पनि यस्तै राम्रा कामहरु समाजले गर्दै जाओस भनेर त्यहाँका स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी लगायतले भनेका थिए ।

गाउँपालिका अध्यक्ष अशोक कुमार थापाले समाजलाई कर्मथलो अन्यत्र भएपनि आफ्नो ठाउंको लागि विशेषज्ञसहित स्वास्थ्य शिविर सञ्चालन गरेर राम्रो काम गरेको भन्दै धन्यवाद व्यक्त गरे । उनले गाउँपालिकाले स्वास्थ्य सम्बन्धी कार्यक्रमलाई विशेष जोड दिएको बताउँदै नगरिकलाई आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्न पनि आग्रह गरे ।

SHARE