सुशीला रेग्मी
असार १९,२०७८ पाल्पा :पाल्पाको नमुना विद्यालयका रुपमा रहेको रामपुरको रामतुलसी माध्यमिक विद्यालयले यसै शैक्षिक सत्र देखि पूर्व बालविकास अर्थात् मन्टेश्वरी कक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।
विसं २०२५ सालमा स्थापना भएको यस विद्यालयले पूर्वी पाल्पामा धेरैलाई शिक्षाको ज्योती दिन सफल भएको छ । नमुना विद्यालयका रुपमा परिचित रहेको रामतुलसी माविले यसै शैक्षिक सत्र देखि शैक्षिक गुणस्तरलाई मध्यनजर गर्दै विद्यालय जाने प्रारम्भिक उमेर समुहका बालबालिकालाई लक्षित गर्दै प्रबिधिमैत्री सुबिधा सम्पन्न मन्टेश्वरी कक्षा सञ्चालन गर्दैछ ।
प्रधानाध्यापक बालकृष्ण लम्सालले सरकारी विद्यालय रहेकाले न्युन शुल्कमा विद्यालयले आधार तय गरेको घेराबारमा रहेर भौतिक संरचना निर्माणको कुनै पनि शुल्क अभिभावकसंग नलिएर पूर्व बालविकास कक्षा सञ्चालन गर्न लागेको बताए ।
“पूर्व बालविकासतर्फ प्ले ग्रुप, नर्सरी र केजी गरी तीन वटा कक्षा सञ्चालन हुनेछ भने एलकेजी र युकेजीका विषयवस्तु केजीमा चलाउने तयारी गरेका छौँ, पूर्व बालविकास कक्षाका लागि आवश्यक पर्ने स्टेशनरी, खेलौना लगायतका सामग्री ल्याइसकिएको छ” प्रअ लम्सालले भने । विद्यालयले ६ वर्षको उमेर नपुग्दै कक्षा १ मा विद्यार्थी पु¥याउने लक्ष्यका साथ यस कक्षालाई जोड दिइएको प्रअ लम्सालले जानकारी दिए ।
रामपुर नगरपालिकका शिक्षा अधिकृत बिकल काफ्लेले शैक्षिक तथा भौतिक क्षेत्रमा अगाडी बढ्दै गएको यस विद्यालयले सुबिधा सम्पन्न प्रबिधिमैत्री मन्टेश्वरी धारणा ल्याएर अहिले सञ्चालनको क्रममा रहनु पूर्वी पाल्पावासी तथा समग्र पाल्पा जिल्लामै नमुना कार्यका रुपमा रहेको बताए । शैक्षिक, भौतिक हिसाबले नमुनाका रुपमा रहेको यस रामतुलसी माविले रामपुर नगरका अन्य विद्यालयको पनि स्तर माथि उकास्न महत्वपूर्ण भूमिका रहेको र अन्यत्रबाट रामपुरमा शैक्षिक अवलोकन भ्रमणका लागि कुनै समुह आएमा देखाउन लायकको विद्यालय रहेको शिक्षा अधिकृत काफ्ले बताउछन् । सरकारी विद्यालयमा रामतुलसी माविले मन्टेश्वरी सञ्चालनका लागि जुन व्यवस्थापन कार्यमा जुटेको छ त्यो अन्य सरकारी विद्यालयमा आफुले अहिलेसम्म नभेटेको उनको भनाई छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलले कोभिड १९ को विषम परिस्थितीका बीच पनि विद्यालयले मन्टेश्वरीको अवधारणा ल्याएर अब सुरुवात गर्ने क्रममा रहेको बताउदै विद्यार्थीका लागि शैक्षिक गतिबिधि अगाडी बढाउने, शिक्षक र विद्यार्थी बीचको सम्बन्ध नजिक बनाउने, शिक्षकको सेवा सुबिधा बृद्धि गर्ने लगायतका कुरामा धेरै प्रयत्न भइरहेको बताउछन् ।
उनी भन्छन्, “करिव ढाई रोपनी क्षेत्रफलमा खाजाघर, खेल खेल्ने ठाउँ सहित मन्टेश्वरीको ब्लक निर्माण गरिएको छ, अबको विद्यार्थी स्कुल जान नपाएर रुने अवस्था बनाउने कोशिसका साथ शैक्षिक विकासमा अगाडी बढेको र संख्यात्मक नभई गुणस्तरमा जोड दिएर काम गरेका छौँ” । उनका अनुसार अबका बालबालिका विद्यालयबाट घर गएर मोबाइल, टिभीमा भुल्ने क्रम बढेको हुदा अब घरमा मोबाइल र टिभीमा भुल्ने होइन, विद्यालयमै प्रबिधिमैत्री वातावरणमा रमाउने अवस्था सिर्जना गरिएको छ ।
नमुना विद्यालय अनुदान सहयोग कार्यक्रम अन्र्तगत प्रबिधिमैत्री सुबिधा सम्पन्न पूर्व बालविकास कक्षा सञ्चालनमा ल्याउन लागेको र त्यसको लागि कक्षाकोठामा शैक्षिक सामग्री व्यवस्थापनको काम चलिरहेको विद्यालय व्यवस्थापन समितिका सदस्य अशोक श्रेष्ठले जानकारी दिए । पूर्व बालविकास अर्थात् मन्टेश्वरी कक्षा सञ्चालनका लागि करिव रु एक करोड बराबरको रकम खर्च हुने अनुमान गरिएको श्रेष्ठले बताए ।
विद्यालयमा गत शैक्षिक सत्रमा दुई हजार एक सय विद्यार्थी रहेकोमा यस शैक्षिक सत्रमा पनि सोही संख्यामा विद्यार्थी रहेको विद्यालयले जनाएको छ । आर्थिक समस्याले किताव, स्कुल पोशाकको अभावमा कोही विद्यार्थी विद्यालय आउनबाट वन्चित रहेको छ भने विद्यालयले त्यस्ता विद्यार्थीलाई निशुल्क भर्ना, किताव, स्कुल पोशाकको व्यवस्था गर्ने भएको छ । यसैवर्ष देखि विद्यालयमा प्राबिधिकधारतर्फको पढाईका लागि अत्याधुनिक ल्याव संचालन गर्ने र ल्याव सञ्चालन गर्न करिव रु २८ लाख बराबरको सामग्री खरिद गरिएको छ ।
लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये पाल्पाको रामपुरमा रहेको यस रामतुलसी माविले नमुना विद्यालयको तेस्रो वर्ष पार गरी चौथो वर्षमा काम गर्दै आइरहेको र नमुना विद्यालयका सबैजसो सुचक विद्यालयले पुरा गरेको छ । यस शैक्षिक सत्रमा स्कुल बस सञ्चालनमा ल्याउने र अर्को वर्षमा छात्रावासको काम सम्पन्न गर्ने योजना रहेको छ भने बिस्तारै पुराना संरचना हटाउने, नयाँ संरचना थप गर्दै जाने विद्यालयले जनाएको छ । विद्यालयको वार्षिक नतिजामा पनि पछिल्ला वर्षमा तुलनात्मक रुपमा सुधार हुदै गएको पाइएको छ ।