१८ गते एमालेको केन्द्रीय कमिटी बैठक

0
510
फाइल तस्बिर

असार १५,२०७८ काठमाडौं :नेकपा एमालेले दशौँ महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रूपान्तरण गर्ने भएको छ।

मंगलबार बसेको स्थायी कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रूपान्तरण गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए।असार १८ गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको उनले बताए।

नेकपाको एकता भंग भएपछि २०७५ जेठ २ गतेको संरचनामा फर्किएपछि एमाले २४१ केन्द्रीय सदस्य छन्।

एकता भंग भएपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले माओवादीका नेताहरूलाई समेत समेटेर केन्द्रीय कमिटी विस्तार गरेर महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण गरेका थिए। सर्वोच्च अदालतले समेत दशौं महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिने फैसला गरेको थियो।

ओलीले पार्टी एकलौटी रूपमा अगाडि बढाउन थालेपछि नेता माधवकुमार नेपाल समूह विद्रोहमा उत्रिएको छ। ओली र नेता नेपाल समूहबीचको ध्रुवीकरणले एमाले विभाजनको डिलमा छन्।

पार्टी एकतालाई जोगाएर अघि बढ्नुपर्ने भन्दै ओली ०७५ जेठ २ को अवस्था फर्किन तयार भएका हुन्। तर, नेता नेपाल समूह बहिर्गमनको प्रयासरत विपक्षी गठनमा सामेल छन्।

नेता नेपाल समुहको बटमलाइन अनुसार ओली ०७५ जेठ २ मै फर्किन तयार भए पनि नेता नेपाल समूह सन्तुष्ट छैन। ओलीले असंवैधानिक ढंगले संसद् विघटन गरेको हुनाले फिर्ता लिएर आत्मालोचना गर्नुपर्ने उनीहरूको माग छ।

यता, ओलीले आफूविरुद्ध कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने अडानमा छन्। दुवै समूहको अडानका कारण एमाले विवाद मिल्ने सम्भावना सकिँदै गएको छ।

SHARE