तम्घासको थ्रिडी पार्क शौचालयमा परिणत हुुन थाल्यो

0
484

तिलाचन पाण्डे
असार१५ ,२०७८ गुल्मी : ५५ लाखको लागतमा निर्माण भएको तम्घासको थ्रिडी पार्क अहिले फोहोर जम्मा हुने र शौचालयको रुपमा परिणत हुन थालेको छ ।
रेसुंगा नगरपालिका र लुम्बिनी प्रदेशको ५०÷५० प्रतिशत साझेदारीमा ५५ लाखको लागतमा पार्क निर्माण गरिएको हो । पार्कको संरचना निर्माण भएको झण्डै दुईबर्ष पुग्दा पनि संचालन र व्यवस्थापनमा कसैले चासो दिएको छैन् ।
निर्माण भएको संरचनाहरु पनि बिग्रन थालेका छन् । पार्कमा नागरिकको मनलाग्दी चलेको छ । पार्कमा बस्नेहरुले फोहोर गर्ने, प्रबेश गर्ने द्धारको गेट नै संरक्षण नहुँदा भाँचिएको छ भने पार्क भित्र शौच गर्ने गरेको समेत पाइएको छ ।

तम्घासको पहिचान नै गुम्यो
पहिले लाँकुरी मञ्चको नाममा चिनिने सो स्थलको पहिचाननै अहिले गुमेको छ । लामो समय पार्कले आफ्नो पहिचान स्थापित गर्न नसक्नु दुखद पक्ष भएको नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डेले बताए ।
उनले विभिन्न संघ संस्था, संगठन र दलहरुले सरकारको अगाडी उभिएर सरकारलाई नै खबरदारी गर्ने बर्षौको इतिहास बोकेको लाँकुरी मञ्च भत्काएर नौटंकी गरिएको आरोप लगाए । पाण्डेले आ आफ्नै स्वार्थका कारण पार्कलाई अलपत्र पारेर राज्यको रकम दुरुपयोग गर्न नपाइने बताए ।
पाण्डेले पार्कलाई पहिलेकै लाकुरी मञ्चमा स्थापित गर्नुपर्ने बताए। जसले पार्कको परिकल्पना गरेको हो त्यो नै जवाफदेही हुनुपर्ने उनको तर्क छ ।

पार्क भित्र दिसा देखेपछि प्रमुख जिल्ला अधिकारी

यता गुल्मी जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्माले पार्क संचालनको बारेमा बिस्तृत बुझने बताइन् । उनी शनिबार दिउँसो पार्क परिसरमा जाँदा दिसा देखेपछि परिसर भित्र नगई पार्क बाहिर आएकी थिइन् । प्रशासनकै अगाडी र सबै भेला हुने स्थानमै पार्कको हरिविजोग देख्दा सरोकारवालाहरु गम्भीर नबन्नु दुःखद भएको स्थानीयहरु बताउछन् ।
नगरप्रमुख र वडा अध्यक्षको जुहारी
यता रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसालले वडाध्यक्ष र उपभोक्ता समिति अध्यक्ष नैै पार्क संचालनको बिषयमा गम्भीर नभएको आरोप लगाए ।
पार्क निर्माणका लागि वडा अध्यक्ष भरत भलामीले नै प्रस्ताव ल्याएका काराण बजेटको ब्यबस्थापन गरेको भन्दै उहाँ र उपभोक्ता समितिले नगरपालिकालाई हस्तान्तरण नगर्नु दुःखद भएको बताए ।
उनीरुलाई छिटो हस्तान्तरण गर्नका लागि भन्दै पत्र काट्दा समेत आनाकानी गरेकाले साउन पछि आफूले हस्तक्षेप गरेरै भएपनि संचालनमा ल्याउने उनले दाबी गरे ।
रेसुंगा नगरपालिका वडा नम्वर ८ का वडाअध्यक्ष भरत भलामीले मेयरले अरुलाई आरोप लगाएर उम्कन नपाइने बताए ।
पार्क निर्माण कार्य नगर स्तरीय भएको भन्दै सबैको सहयोगले मात्रै पार्क संचालन गर्न सकिने उनको भनाई छ । नगरपालिकाले नै प्रदेशसंग प्रपोजल पेश गरी नगर र प्रदेशको साझेदारीमा कार्यक्रम भएकाले वडा अध्यक्षलाई मात्र आरोप लगाएर कोही उम्कन नसक्ने उनले बताए ।
पछिल्लो सममा पार्कका सामग्रीहरु बिग्रने र भत्कने भएकाले काठमाडौँबाट दक्ष जनशक्ति बोलाइएको र ढिलोमा दशै अगावै पार्क संचालनमा आउने भलामीको दाबी छ ।

SHARE