
तिलाचन पाण्डे
असार११,२०७८ गुल्मीःगुल्मीदरबार गाउँपालिकाको वडा नम्बर एक बलिथुममा आरसिसी र टिनले छाएका घरहरुले खरका छाना बिस्थापन गर्ने जस्तापाताको रजाइँ गरेको रहस्य खुलेको छ ।
खरका छाना बिस्थापन गरी जस्तापाता लगाउने कार्यक्रम भए पनि आरसिसी र पहिल्यै जस्तापाताले छाएका घरवालाहरुले जस्तापातामा रजाइँ गरेका हुन् ।
ओमबहादुर कामीको घर पहिल्यै जस्तापाताले छाएको छ तर उनले खरका छाना बिस्थापित गर्ने कार्यक्रमको जस्तापाता लिए । यस्तै बालकुमारी मास्कोटी,यमबहादुर बुढाथोकी ,अमरबहादुर मास्कोटीको सुरक्षित आवास अन्र्तगत ५० हजार पाउने नाममा सुचिकृत भई वडामा सम्झौता भएको छ । उनीहरुले पनि जस्तापाता लिएको नाम नबताउने शर्तमा एक स्थानीय नेताले जानकारी दिए ।
यस्तै मनरुपा रजालीको आरसिसी र ढुंगाले छाएको घर छ ,उनले पनि जस्ता पाता लिएको खुलेको छ । महेन्द्र कामीको टिनले छाएको र दिलकुमारी (रेश्मी) मगरको ढुंगाले छाएको घर भएपनि उनीहरुले खरका छाना बिस्थापन अन्र्तगतको जस्तापाता लिएका छन् ।
वडाअध्यक्ष अनबिज्ञ
यता जस्तापाता वितरणको बारेमा आफू अनबिज्ञ भएको वडा अध्यक्ष रामबहादुर पल्लीले बताए । कार्यपालिकाको बैठकमा सामान्य छलफल भएको पनि आधिकारीक केही निर्णय पनि नभएको उनको भनाई छ ।
आरसीसी घर भएका र पहिल्यै जस्तापाताले छाएको घरलाई पनि गाउँपालिकाले जस्तापाता दिदाँ समस्या भएको उनको दाबी छ ।
पालिकामा झुटा विवरण पेश गरी जस्तापाता लिनेबाट जस्तापाता फिर्ता गराउने र आवश्यक कारवाही गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।
उनीहरुले आफूहरुको खरले छाएको घर भएको भन्दै गाउँपालिकामा जस्तापाता मागका लागि निवेदन दिएका थिए ।
यता गाउँपालिकाकी उपाध्यक्ष मीना भण्डारीले वडाबाट नपाएको भन्दै गाउँपालिकामा पटक पटक आएपछि जस्तापाता दिएको बताइन् । जस्तापाताको दुरुपयोग भएको पाइएमा आवश्यक कारवाही गरेरै छाड्ने उनले दाबी गरिन् ।








