पाल्पा रामपुरमा ७४ करोड ६४ लाख ६१ ह्जार बराबरको वजेट सार्वजनिक

0
359

सुशीला रेग्मी
रामपुर (पाल्पा), ८ असार :
रामपुर नगरपालिकाको नवौँ नगर सभामा आर्थिक वर्ष २०७८÷०७९ का लागि रु ७४ करोड ६४ लाख ६१ हजार बराबरको अनुमानित वजेट प्रस्तुत भएको छ । नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले आ.व.०७८÷०७९ को सो वजेट पेश गर्दै कुल वजेटमध्ये ६४ दशमलव ११ प्रतिशत चालुतर्फ र ३५ दशमलव ८९ प्रतिशत पूँजीगत तर्फको रहेको जानकारी दिइन् ।
शिक्षा क्षेत्रमा सबैभन्दा बढी वजेट विनियोजन गरिएको जानकारी दिनुहुदै नगर उपप्रमुख आचार्यले शिक्षमा रु २५ करोड ४३ लाख ५० हजार, स्वास्थ्यतर्फ रु पाँच करोड ७० लाख ५० हजार, सडकतर्फ रु चार करोड नौ लाख ५५ हजार विनियोजन गरिएको वजेट प्रस्तुत गरिन ।
त्यस्तै भवन तथा शहरी विकासतर्फ रु एक करोड ३३ लाख ५५ हजार, सिंचाई तर्फ रु ७३ लाख, प्रधानमन्त्री रोजगार कार्यक्रम र युवा रोजगारी रुपान्तरण प्रयोजनका लागि रु ८६ लाख, वातावरण तथा विपत व्यवस्थापनतर्फ रु एक करोड विनियोजन हुने जनाइएको छ ।
आर्थिक विकासतर्फ रु एक करोड ५७ लाख ७० हजार, उर्जा तथा बिद्युत्तिकरणमा रु ४९ लाख ५० हजार, सुचना प्रबिधि विकास, खानेपानी तथा सरसफाईतर्फ रु दुई करोड पाँच लाख ५७ हजार, सँस्कृति प्रवद्र्धनमा रु ६५ लाख ९० हजार, लैङ्गीक समानता तथा सामाजिक समाबेशिकरणमा रु ५७ लाख ७० हजार, उद्योग तथा वाणिज्यतर्फ रु ५६ लाख ९७ हजार, पर्यटन क्षेत्रका लागि रु ४८ लाख ८० हजार, खेलकुद तथा मनोरन्जनतर्फ रु ४० लाख ६० हजार बराबरको वजेट विनियोजन भएको नगर सभामा जानकारी दिइएको छ ।
आवश्यक खर्च व्यवस्थापनको लागि संघिय सरकार बाट वित्तिय समानिकरण अनुदानतर्फ रु १२ करोड ६० लाख, सशर्त अनुदान रु ३१ करोड २८ लाख, विषेश अनुदान रु एक करोड २५ लाख, प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण अनुदान रु ६० लाख १३ हजार, सशर्त अनुदान रु एक करोड १५ लाख ४४ हजार, समपुरक अनुदान रु दुई करोड, विशेष अनुदान रु ७० लाख, राजस्व बाँडफाँडतर्फ रु चार करोड ३९ लाख दुई हजार, अन्तशुल्क रु चार करोड ३९ लाख, आन्तरिक आय रु १५ करोड मार्फत गर्न लागेको जनाइएको छ ।
सभामा नगर प्रमुख रमणबहादुर थापाले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आधारभूत स्वास्थ्यलाई पहिलो प्राथमिकता दिईएको बताउनुभयो । कोरोनाको महामारीलाई मध्यनजर गर्दै नागरिकको जीवन रक्षाका लागि आधारभुत स्वास्थ्य सेवालाई पहिलो प्राथमिकता दिइएको छ ।
यसवर्ष ‘हाम्रो रामपुर राम्रो रामपुर, हाम्रो वडा राम्रो वडा, हाम्रो टोलको विकास जनताको अपेक्षित निकास’ भन्ने नारा सहित विभिन्न योजनाहरु निर्माण गरिएको छ । रामपुरलाई कृषिमा आत्मनिर्भर बनाउन नगरका दशवटै वडामा एक वडा एक उत्पादन कार्यक्रमलाई यसवर्ष पनि समावेश गरिएको छ । प्रत्येक वडामा सडक, खानेपानी, सिंचाई र फोहर व्यवस्थापन गर्न योजना बैंकं निर्माण गरी कार्यान्वयन गरिने भएको छ ।
महिनावारी र गर्भवति महिलालाई बिशेष विदा
महिनावारीका समय र गर्भ परिक्षण गराउन महिला कर्मचारीलाई आगामी वर्ष देखि बिशेष विदा उपलब्ध गराइने भएको छ । महिनावारीका बखत महिला कर्मचारीका लागि महिनामा एक दिन र गर्भवति महिला कर्मचारीका लागि गर्भावस्था जाँच गराउन गर्भावधीभर चार दिन बिशेष विदा दिने आगामी आर्थिक वर्षको कार्यक्रममा समेटिएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरीराम नागिलाको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन सुचना अधिकारी तथा कृषि शाखा प्रमुख रामहरी पाण्डेयले गर्नुभएको हो । नगर प्रमुख थापाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन संयोजक हिमाल मल्ल, आर्थिक विकास समितिको प्रतिवेदन संयोजक हुमनाथ न्यौपानेले पेश गर्नुभएको छ ।
त्यस्तै सार्वजनिक सेवा तथा सुशासन विकास समितिको प्रतिवेदन संयोजक मित्रलाल कंडेल, न्यायिक समितिको प्रतिवेदन सदस्य विष्णुप्रसाद वस्याल र वन विद्येयक २०७८ विपद् व्यवस्थापन समिति संयोजक ताराबहादुर थापा र सामाजिक विकास समितिको प्रतिवेदन समितिका सदस्य मिनबहादुर सिंजालीले प्रस्तुत गरे ।

SHARE