गुल्मीमा दुई करोडको भबन पाँच वर्ष नवित्दै चुहिँन थाल्यो

0
646

असार२,२०७८गुल्मी :साविकको जिल्ला प्राविधिक कार्यालय जसको काम जिल्लाका विकास निर्माण कार्यमा गुणस्तर कायम भए वा नभएको अनुगमन गर्ने थियो। यो कार्यालयले योजनाको लागत इस्टिमेट तयार गर्ने मुल्यांकन गरी भुक्तानीका लागि सिफारिस गर्ने गर्दथ्यो।

तर उही कार्यालय बस्ने भवन भने गुणस्तरहीन बनेको पाइएको छ। प्राविधिकहरु आफै बस्ने कार्यालयको भवन निर्माण भएको पाँच वर्ष नपुग्दै चुहिन थालेको छ। भवन चुहिएर कोठामा पानी थापेर बाहिर फाल्नुपर्ने अवस्था सृजना भएको छ।

एक करोड ९५ लाख ५५ हजार रुपैयाँमा निर्माण सम्पन्न भएको भवनमा अहिले सडक पूर्वाधार विकास कार्यालय बस्दै आएको छ। सो भवन नेशनल डेभ्लपमेन्ट,सुनील समिर जेभीले २०७३ जेठ २३ गते निर्माण सम्पन्न गरेको थियो।

आकासमा बादल लाग्ने वित्तिकै कोठामा पानी थाप्न बाटा राख्नुपर्ने अवस्था रहेको एक कार्यालय सहयोगीले बताए। छतबाट पानी चुहिने भएपछि सडक पूर्वाधार विकास कार्यालयले छतको फिनिसिङ ढलान फोरेर फिनिसिङ ढलानका लागि टेन्डर आव्हान गरेको छ।

सोही अनुसार २०७७ चैत २८ गते वि एण्ड डी निर्माण सेवा काठमाडौं १० शंखमूलसँग असार १५ गते सम्पन्न गर्ने गरी ६ लाख ६४ हजार ९११ रुपैयाँमा सम्पन्न गर्ने गरी सम्झौता भएको कार्यालयले जनाएको छ।

निर्माण व्यवसायी दीपक पाण्डेले सम्पन्न गर्नुपर्ने समय अगावै काम सम्पन्न गर्ने बताए। सबै सामग्रीहरु तयारी अवस्थामा रहेको बताउँदै पानी रोकिनासाथ दुई दिनमै काम सम्पन्न गर्ने उनले दाबी गरे।

फिनिसिङ ढलानले पनि पानी चुहिने समस्या समाधान नहुने हो भन्ने आफुलाई चिन्ता लागेको पाण्डेले बताए। यता पूर्वाधार विकास कार्यालय गुल्मीका कार्यालय प्रमुख गोपीराज पुनले समस्या नआउने गरी कुखुरे जाली राखेर फिनिसिङ ढलान गर्ने बताए।

सम्भव भएसम्म क्येमिकल राखेर भएपनि फिनिसिङ ढलान गर्ने र पानी चुहिने समस्यालाई अन्त्य गर्ने गरी लागेको दाबी गरे।

SHARE