गुल्मीमा खोला बढेकाले संक्रमित अस्पताल सम्म आउन सकेनन्, नेपाली सेनाको ट्रक पनि सदरमुकाम फिर्ता

0
873
फाइल फोटो

तिलाचन पाण्डे
असार१,२०७८ गुल्मीःमालिका गाउँपालिका वडा नम्वर ७ का संक्रमित अन्दाजी ४५ बर्षीय श्रीमान र ४० बर्षकी श्रीमतीलाई मंगलबार उच्च ज्वरो र खोकीले सतायो ।
उनीहरुलाई घमिर स्वास्थ्य चौकीको एम्बुलेन्स मार्फत साँझ उपचारका लागी तम्घास ल्याइदै थियो ।
बाटोमा आउँदै गर्दा फुलबारी खोला बढेकाले एम्बुलेन्स तर्न सकेन । खोला तर्न एम्बुलेन्स नसके पछी सदरमुकाम तम्घासबाट नेपाली सेनाको ट्रक पठाइयो ।
नेपाली सेनाको ट्रक पनि इश्मा गाउँपालिका वडा नम्बर एकको झरना गुर्वा खोला तर्न नसकेकाले संक्रमितलाई उपचारका लागी सदरमुकाम तम्घास ल्याउन सकिएन् ।
सो खोलामा मालवाहक ट्रक पनि फसिएको र सेनाको ट्रक तर्न नसकेको संग्राम सादुल गुल्मका गुल्मपति डायमण्ड कार्कीले जानकारी दिए । सो खोलामा रहेको कल्भर्ट स्थानीयहरुले गत बर्ष असार १९ गते घर डुवानमा पर्न लागेको भन्दै डोजर लगाई तोडफोड गरेका थिए । कल्भर्ट हालसम्म पनि निर्माण तथा मर्मत हुन सकेको छैन ।
संक्रमित श्रीमान र श्रीमतीलाई अहिले मालिका गाउँपालिका वडा नम्बर ६ अर्जैको एक घरमा राखिएको अर्जैका वडा अध्यक्ष शोभाखर गिरीले जानकारी दिए ।
संक्रमितलाई राती थप समस्या हुन सक्ने भन्दै अक्सिजन सिलिन्डर र स्वास्थ्यकर्मीको ब्यबस्था गरी राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले जानकारी दिए ।
यता गुल्मी जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले संक्रमितको अबस्था सामान्य रहेको र तालिम प्राप्त नेपाली सेनाको ट्रक पनि खोला तर्न नसकेको बताइन् ।
यता अबिरल बर्षाका कारण रेसुंगा नगरपालिका वडा नम्बर ७ बेदुखर्कका दुई घरमा पानी पसेको र घर जोखिममा रहेकोले सुरक्षित स्थानमा सारीएको छ । स्थानीय लक्ष्मी कुँवर र रामबहादुर खडकाको परिवारलाई छिमेकीको घरमा सारिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।
यस्तै रुरुका २ घर परिवारलाई पनि सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

SHARE