अब सम्झनामा मात्रै कुञ्जरमणि गौतम सर

0
586

मनु सुनार मनसुन

गुल्मी : कोभिडको दबदबाबाट गुल्मी पनि अछुतो रहेन । केही हप्ता अघिसम्म तम्घासको चिदिचौरमा दिनहुँ जसो हेलिकप्टर बसिरहे । मान्छे बोकेर उडिरहे । ती हेलिकप्टरले कोभिडका बिरामी बोकेर उडिरहेका हुन्थे । त्यहिँ बीचमा दिनहुँ कोभिड संक्रमितको मृत्युका खबरले छ्याप छ्याप्त रेडियो, टेलिभिजन, सामाजिक सञ्जाल भरिरहेका थिए ।

जेठ १९ गतेको विहान सामाजिक सञ्जालमा मैले पनि एउटा हँसिलो र उज्यालो अनुहार सहितको तस्बिरमा श्रद्धाञ्जली शब्दका सुमनहरूको खात देखेँ । मलाई विश्वास गर्न गाह्रो भयो। केही दिन अघि सामाजिक सञ्जालमा शीघ्र स्वास्थ्य लाभ लेखेर पोष्ट गरिएको तस्बिरमा एकाएक श्रद्धाञ्जलीको ओइरो थियो। भर्खर जस्तो लाग्छ, ठिक भएर फर्कने आशा र अटल विश्वास बोकेर हेलिकप्टर भरेर चितवन गएको उहाँ ।
अझै पनि विश्वास लागिरहेको थिएन्। अस्ति जस्तो लाग्छ, कोट, पाइन्ट, टाई र सुटमा क्लासमा उभिएर विद्यार्थीसंग ‘ह्याप्पी न्यू इयर’ भन्दै गीतमा ताली बजाउँदै नयाँ वर्ष (२०७८) लाई स्वागत गरेको । जुन भिडियो अहिले सामाजिक सञ्जालमा समेत भेटिन्छ । तीनै व्यक्तित्वको मृत्युको खबर आँखा चिम्लेर नै विश्वास मान्नु परिरहेको थियो । उहाँ अर्थात कुञ्जरमणि गौतम सर ।
गाउँमा गौतम सर

तम्घासदेखि उत्तर पूर्वमा पर्ने रेसुङ्गा नगरपालिका–१४ रातामाटा (साविक पराल्मी गा.वि.स.६ रातामाटा) । नमिलेको भूगोल । पिछडिएको वस्ती । विकट स्थान । अशिक्षित मानिस । तर चम्किलो ताराका रूपमा जन्म भयो कुञ्जरमणि गौतमको । वि.सं.२०२३ साल मंसिर महिनाको १५ गते। बुबा रूक्मागत गौतम र आमा हुतिकला गौतमको जेठो सन्तानका रूपमा । जंगलको बीच भागमा रहेको गाउँमा उहाँका बाल्यकाल शुरू भए ।

गौतमका बालसखा रूद्रप्रसाद आचार्य भन्नुहुन्छ,‘मेरो १० वर्ष निरन्तर सहपाठीको रूपमा संगत भयो। बाल्यकालको साथीलाई गुमाउनु पर्दा भावविह्वल भएको छु ।’ गौतमले प्राथमिक तहको अध्ययन हालको त्रिभुवन मा.वि गाउँमै, नि.मा.वि. तहको अध्ययन हालको पदम बहादुर मा.वि. गुल्मी दरबार–१ लुम्पेक र मा.वि तहको अध्ययन महेन्द्र नमुना मा.वि तम्घासबाट २०४३ सालमा एस.एल.सी.उत्तीर्ण गर्नुभएको थियो । आचार्यले भन्नुभयो, ‘रेसुङ्गाको जंगल, रेसुङ्गा धार्मिक स्थलको यात्रा, धुर्कोट वस्तु, नयाँगाउँ लगायतका थुप्रै स्थानमा बालापनमै घुमेको स्मरण ताजै छ । म कसरी बिर्सन सक्छु ! संगै बिताएका पलहरु सदैव मानसपटलमा ताजा छन् र स्मृतिमा रहिरहने छन्।’

हँसिलो अनुहार । सिर्लिक्क परेको जिउडाल । मिलनसार व्यवहार । अर्कषक व्यक्तित्व । आर्दश पात्र । गाउँमा उहाँकै नाम पहिला आउँथ्यो । गाउँको चिन्ता गरिरहने गौतम सबैका प्रिय हुनुन्थ्यो । उहाँमा सहयोग गर्ने भावना, मित्रतापूर्ण व्यवहार, बौद्धिकताको खानी थियो । आचार्य सम्झिनुहुन्छ, ‘बाल्यकाल देखि नै गाउँ समाज र देशका लागि असल नागरिक तथा सेवकको रूपमा खट्न चाहान्थे उनी ।’

उहाँको बाल्यकाल देखि नै उच्च शिक्षा हासिल गर्ने उद्देश्य थियो । यहिँ चाहनाले एम.फिल सम्मको अध्ययन पूरा गर्नुभएको थियो गौतम सरले । सबैका प्रिय गौतम जेठ महिनाको १८ गते अस्पतालको बेडमा मृत्युसँग पैठेजोरी खेल्दा खेल्दै अन्ततःचिर निद्रामा जानुभयो । अब उहाँका आँखा सदाका लागि बन्द भए । अमृत वचनका उहाँका आेंठ अब कहिल्यै खुल्ने छैनन्,बोल्ने छैनन्।

विकट स्थानबाट उठेर आउनुभएका गौतम सदरमुकाम (तम्घास)लाई कर्मथलो बनाएर बस्नुभएको थियो; अध्यापन पेसासंगै । संघर्षले हरेक चुनौतीलाई सामना गरी जित हासिल गर्दै आउनुभएका गौतम सरले कोरोनासंगको लडाइँमा पुरापूर हार्नु पर्यो । चितवन मेडिकल कलेज चितवनमा जिन्दगीको अन्तिम सास फेर्नुप¥र्यो। उहाँको हार मात्र भएन । विकट गाउँ रातमाटाबासीले अभिभावक गुमाउनु पर्यो । आशाको दियो निभ्यो । त्यो ठाउँ सहारा विहिन भयो । जिल्ला तथा राष्ट्रले एक सक्षम शैक्षिक व्यक्तित्वलाई गुमाउनु पर्यो ।

मेरो सम्झनामा गौतम सर

कुञ्जरमणि सर आउने भनेपछि गाउँमा पहिल्यै थाहा भइहाल्थ्यो । गाउँमा कोही नयाँ मान्छे आउँदैछन् वा विशेष केही कार्यक्रम हुँदैछ, भनेर। यहिँ सिलसिलामा स्कुल, क्लब गाउँमा भएका संघसस्थांले आयोजना गर्ने कार्यक्रमहरूमा उहाँलाई देख्न पाइन्थ्यो ।

जिल्लाबाट ठूला मान्छे आउँदैछन् भन्ने पनि उहाँबाटै जानकारी पाइन्थ्यो । गाउँमा आयोजना गरिने महत्वपूर्ण कार्यक्रममा जिल्लाबाट अतिथि जान्थे। त्यसको चाँजोपाँजो गौतमले नै मिलाउने गर्नुहुन्थ्यो। मैले जान्ने हुँदा देखि नै उहाँलाई यहिँ रूपमा थाहा पाएँ। अरूले उहाँका विषयमा धेरै गुणगान गाएको÷भनेको सुन्थें। धेरैले भन्ने गर्थे आफ्ना छोरा छोरीहरूलाई ‘गौतमसर जस्तै ठुलो, विवेकशील, आदर्श व्यक्ति बन्नू ।’

उहाँ अर्थात् कुञ्जरमणि गौतम। गाउँमा उहाँको बसाइँ कमै हुन्थ्यो। शहरमा बस्नुहुन्छ भन्ने सुनेको थिएँ। उहाँको कर्मस्थल अथवा तम्घास। रेसुङ्गा बहुमुखी क्याम्पसमा अध्यापन गराउनुहुन्थ्यो । तर पनि मेला, पर्व र उत्सवमा गाउँमै भेटिनुहुन्थ्यो। त्यहि मेला पर्वमा उहाँसँग चिनजान भएको थियो ।

मैले स्थानीय स्तरमा आयोजना हुने मेला, महोत्सवको उद्घोष गर्थे, खुब भाग लिन्थे। आफ्नो प्रतिभा देखाउने चेष्टा गर्थे। त्यही क्रममा उहाँसंग भेट भयो। स्मरणमा ताजै छ उहाँले भन्नुभएको,‘तैले अब रेडियोमा बोल्नुपर्छ । सायद उहाँको यहि हौसलाले होला मलाई रेडियोप्रतिको मोह जाग्यो। रेडियोमा बोल्न लालायित भएँ। सोही उपज होला रेडियो कर्ममा म आवद्व हुन पाएँ।

शहरमा, गौतम सर

गाउँमा जति उहाँको बारेमा सुनेको थिएँ,शहर(तम्घास)मा त्योभन्दा बढी चर्चा पाएँ। उहाँले शहरमा त झन् हरेक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनु भएको रहेछ दुर्गम स्थानबाट आएर। शिक्षा, सञ्चार, हरेक क्षेत्रमा ।

रिपोर्टिङका हिसाबले यस शहरमा रहेका विभिन्न गैरसरकारी संघसस्थामा पुग्ने गर्छु । ती संस्थाका भित्तामा उहाँको नाम देखिन्छ । सायद त्यसैले होला उहाँको मृत्यु धेरैलाई दुख्यो । गाउँ मात्र रोएन, शहर, यहाँका मान्छेहरूको आँखा रसाई रहेको छ । सांसद,नेता, प्रध्यापक, शिक्षक, डाक्टर, वकिल, पत्रकार, विद्यार्थी, समाजसेवी सबैको मनमा पीडाबोध भएको छ ।

पछिल्लो पटक गाउँकै एक भाइ मेख बहादुर पेमी गम्भीर रोगको सिकार भए। उनको उपचारमा आर्थिक अभाव भयो। त्यो समचार लेखेपछि आर्थिक संकलन र काठमाडौंमा डाक्टरसँगको समन्वय मिलाउन गाउँको अभिभावक तपाई नै हो यसमा सरलाई सहयोगका लागि आग्रह गरेँ। अन्ततः गौतम सरको समन्वय तथा देश विदेशबाट सहयोग जुटेपछि पेमी भाइले उपचार पाए। गौतम सरसँगको त्यो भेटको कुराकानी नै मेरा लागि अन्तिम भयो।

रेसुङ्गा बहुमुखी क्याम्पसको यात्रा

रेसुङ्गा बहुमुखी क्याम्पसमा गौतमले २०५३ भदौ २८ गते नियुक्ति पाउनुभएको थियो। उहाँ करिब २५ वर्ष क्याम्पसमा अध्यापन पेसामा रहदाँ विद्यार्थी माझ अत्यन्त लोकप्रिय हुनुहन्थ्यो। क्याम्पसको शैक्षिक क्षेत्रमा मात्र नभई चौतर्फी विकासमा गौतमको महत्वपूर्ण भूमिका रहेको क्याम्पस प्रमुख हरिबहादुर खत्री बताउँनुहुन्छ।

क्याम्पसको विकासका लागि २०६९ सालमा आयोजना गरिएको महायज्ञमा पनि गौतमको भूमिका अग्रणीय थियो। उहाँ क्याम्पसका आजीवन सदस्य समेत हुनुहुन्थ्यो। क्याम्पसमा रहँदा उत्कृष्ट प्रध्यापकको रूपमा पुरस्कृत समेत हुनुभएको थियो। उहाँ क्याम्पसमा रहँदा अतिरिक्त क्रियाकलाप विभागको अध्यक्ष भई महत्वपूर्ण योगदान दिनुभएको थियो ।

क्याम्पस प्रमुख खत्रीका अनुसार क्याम्पसले क्यूएए (त्तब्ब्) प्रमाण पत्र प्राप्त गर्दा पनि गौतमको महत्वपूर्ण भूमिका थियो । उहाँ भन्नुहुन्छ, ‘रेसुङ्गा बहुमुखी क्याम्पसलाई क्यूएए सर्टिफाइडका लागि पाल्नुहुने प्रा.डा.जयराम अवस्थी यहाँ आउँदा पनि गौतमलाई विज्ञ प्रध्यापकका रूपमा मूल्यांकन गर्नुभएको थियो। गौतमको देहवसानपछि क्याम्पसलाई ठूलो क्षति भएको खत्रीले बताउनुभयो। पछिल्लो समय गौतम काठमाडौं बस्न खोज्दा खोज्दै पनि गुल्मीमा बोलाएको उहाँले बताउनुभयो।

‘क्याम्पसमा रहँदा विद्यार्थी, प्रध्यापक, कर्मचारीमा सहसम्बन्ध राखेर क्याम्पसमा मैत्रीपूर्ण व्यवहार उहाले दर्शाउनुभएको थियो,’ खत्रीले भन्नुभयो। शैक्षिक जगतमा गौतमको देशमा मात्र होइन विदेशमा पनि गुडविल राम्रो थियो। अग्रेजी बिषयको एम.फिल सक्नुभएका गौतमको पि.एच्.डी. गर्ने सपना अधुरो रह्यो।

गुल्मीमा नेल्टाको स्थापना उहाँले नै गर्नुभएको थियो। नेल्टाको अन्तर्राष्ट्रिय फोरममा उहाँको प्रस्तुतिले विदेशका विद्वान् पनि प्रभावित थिए। सोही कार्यक्रमले उहाँको अमेरिका, क्यानडा, बेलायतका फोरममा अमिट छवि बनाउन मद्दत ग¥र्यो।

विद्यार्थीको मन मनमा गौतम सर

अध्यापनमा प्रविधि र नवीनतासँगै विद्यार्थीका अभिभावकका पनि असल अभिभावक गौतम विद्यार्थी माझ प्रिय हुनुहन्थ्यो। बि.बि.एस्.को नयाँ कक्षा सुरु भएको बल्ल एक महिना हुँदै थियो। कोरा किताबी ज्ञान मात्र होइन अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीहरुलाई प्रेरित गर्नुहुन्थ्यो।, ‘दोश्रो पिरियड गौतम सरको थियो । ७८ सालको आगमन हुँदै थियो।

सर्वप्रथम शुभकामना भन्दै बोर्डमा लेख्नुभयो २०७७ साल कस्तो भयो ? कस्ता लक्ष्य थिए, कति पूरा भए ?, २०७८ साल कस्तो बनाउने ? भन्ने प्रश्नहरु लेख्नुभयो।’ बि.बि.एस् प्रथम वर्षमा अध्ययनरत विद्यार्थी अनिश पन्थी भन्नुहुन्छ,‘आत्मीय गुरुलाई गुमाउँदा दुखित छु । त्यही बीचमा कोरोनाको सङक्रमण बढेपछि कलेज बन्द गर्ने सूचना आइरहेको थियो। ‘कलेज बन्द भए पनि अनलाइन क्लास पढाउछु भन्नुभएको थियो।’ भावुक हुँदै पन्थीले भन्नुभयो,‘नत सरले हामीलाई अनलाईन कक्षा पढाउन लेखेको रहेछ, नत लकडाउनमा सरसँग हामीलाई अनलाईन कक्षा पढ्न लेखेको रहेछ।’

असल सल्लाहकारका रूपमा गौतम सर

गौतम बहुमुखी प्रतिभाशाली व्यक्तित्व हुनुहुन्थ्यो। पेशाले प्रध्यापक भए पनि असल राजनीतिज्ञका लागि असल सल्लाहकारका रूपमा भूमिका खेल्नुभयो। नेपाली कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठ भन्नुहुन्छ,‘उहाँ एक असल राजनीतिक सल्लाहकारका रूपमा हुनुहुन्थ्यो। समस्या निकाल्ने मान्छे समाजमा धेरै हुन्छन्। तर समस्या समाधान गर्ने मान्छे बहुत कम हुन्छन्। त्यसैमध्यका एक हुनुहुन्थ्यो गौतम।’ श्रेष्ठले भन्नुभयो,‘साना ठुला सबैको साथी, विद्यार्थीको असल अभिभावक, राजनीतिकर्मीको सही सल्लाहकार, राष्ट्रको असल नगारिक हुनुन्थ्यो।’ गौतमको निधनले गुल्मी जिल्लाई नै एउटा अपूरणीय क्षति भएको उहाँले बताउनुभयो।

सामाजिक कार्यमा अग्रसर गौतम सर

उहाँले रेसुङ्गा संरक्षण समितिको सचिव, उपाध्यक्ष हुँदै लामो समयसम्म रहेर रेसुङ्गा धार्मिक क्षेत्रको संरक्षण र विकासको गुरुयोजना निर्माण लगायतका काममा अतुलनीय योगदान पुराउँदै आाउनु भएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताउनुभयो। गौतम गुल्मी जिल्लाको पहिलो रेडियो, रेडियो रेसुङ्गा एप्m.एम्.का सञ्चालक मध्येका एक उहाँ पत्रकारिता र लेखन क्षेत्रमा पनि कलम चलाउनुहुन्थ्यो।
जिल्लाका विभिन्न वित्तीय संस्थाहरुमा समेत आबद्ध गौतमको सामाजिक क्षेत्रमा अग्रणी भूमिका रहेको सदरमुकामबासीको भनाइ छ। बालक, युवा, प्रौढ, वृद्ध, वकिल, डाक्टर, राजनीतिज्ञ, प्रध्यापक, शिक्षक, विद्यार्थी सबैले चिनेका, जानेका असल, शालिन बौद्घिक व्यक्तित्व कुञ्जरमणि। जो साँच्चिकै शिक्षाका मणि हुनुन्थ्यो।

SHARE