तिलाचन पाण्डे
जेठ१९,२०७८ गुल्मीः गुल्मेली समाज जापानले नेपाल पत्रकार महासंघ गुल्मीको अक्सिजन प्लान्ट अभियान अन्र्तगत जिल्लामा करिब १६ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
कोरोना माहामारीको समयमा जिल्लामा स्वास्थ्य सामग्रीको अभाब नहोस भनेर जापानमा रहेका गुल्मीबासीहरुले रकम संकलन गरी जिल्लामा स्वास्थ्य सामग्री सहयोग गरेको समाजका अध्यक्ष सालिकराम भण्डारीले जानकारी दिए ।
करिब १६ लाख रुपैयाँ गुल्मेलीद्धारा जापानमा सहयोग संकलन भएको बताउँदै भण्डारीले पहिलो चरणमा १२ लाख बराबरको स्वास्थ्य सामग्री जिल्लामा पठाइएको र दोस्रो चरण पुनः पठाइने बताए ।
जन्मभूमिको माया र स्वास्थ्य सामग्रीको अभाबले अकालमै जिल्लामा कसैको ज्यान जान नपरोस भनेर स्वास्थ्य सामग्री सहयोग गरिएको सहयोग संकलन अभियानका अभियान्ता शिशिर न्यौपानेले बताए ।
समाजले कालीगण्डकी गाउँपालिकामा अक्सिमिटर २०थान,थर्मोमिटर १० थान, ग्लोब्स,भिटिएम,स्यानीटाइजर, सर्जिकल मास्क ,एन नाइटिफाइभ मास्क, पीपीई ,र गाउँपालिकालाई प्रयाप्त मात्रामा भिटामिन क्याप्सुलहरु सहित विभिन्न प्रकारका औषधीहरु सहयोग गरेको हो ।
यस्तै सत्यवती गाउँपालिका,चन्द्रकोट गाउँपालिकाको मजुवा स्वास्थ्य चौकी,मुसिकोट नगरपालिकाको वामी अस्पताल, मुसिकोट नगरपालिकाको अर्लाङकोट स्वास्थ्य चौकी ,मालिका गाउँपालिका ,छत्रकोट गाउँपालिकाको श्रङगा प्राथमिक स्वास्थ्य केन्द्रलाई एक एक थान अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग गरेको हो ।
यस्तै तम्घास अस्पताल,मुसिकोट नगरपालिकाको कुर्घा स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
प्राप्त स्वास्थ्य सामग्रीहरु नेपाल पत्रकार महासंघले सम्बन्धित स्थानमा लगेर हस्तान्तरण गरेको हो । स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गर्दै नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले जापानमा रहेर बिहान साँझको गास कटौती गरी जिल्लाबासीहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेकोमा धन्यबाद ब्यक्त गरे ।
जापानमा रहने गुल्मी बासीहरुले सधै दुःख र बिपदको समयमा सहयोग गर्दै आएको स्मरण गर्दै ज्यान जापानमा रहे पनि मन जिल्ला र जिल्लाबासीहरुको स्वास्थ्य प्रति रहेको आफूले पाएको अर्यालले बताए ।
स्वास्थ्य सामग्रीहरु ग्रहण गर्दै कालीगण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले प्राप्त स्वास्थ्य सामग्रीले बिरामीहरुको उपचारमा सहयोग पुग्ने बताए । जापानमा रहेर पनि जन्मभूमिको माया गर्दै स्वास्थ्य सामग्री सहयोग गर्ने गुल्मेली समाज जापानलाई उहाले धन्यबाद ब्यक्त गरे ।
महासंघले सोमबार एकै दिन चार समूहमा बिभाजन भई जिल्लाका विभिन्न स्थानमा पुगी स्वास्थ्य सामग्री हस्तान्तरण गरेको महासंघ गुल्मीका सचिब प्रेम सुनारले जानकारी दिए ।