
सुशीला रेग्मी
जेठ७,२०७८ पाल्पाःरामपुर युवा क्लबले रामपुर नगरपालिका वडा नं ५ को बेझाड बजारमा सडक बत्ति जडान गरेको छ ।
रातको समयमा कोभिड रोकथामका लागि जारी निषेधाज्ञामा बेझाड बजार बन्द रहदा बजार क्षेत्रमा सुनसान हुन थालेपछि क्लबले प्रहरी बिटमा रहेको बिद्युत् पोलमा सडक बत्ति जडान गरेको क्लबका सचिव सुन्दर कंडेलले जानकारी दिए ।
निषेधाज्ञाको समयमा बेझाड बजार क्षेत्रका पसल, व्यवसाय बन्द भएपछि सुरक्षामा खटिएका प्रहरी र बजार क्षेत्रको शान्ति सुरक्षालाई मध्यनजर गर्दै सडक बत्ति जडान गरेको क्लबका अध्यक्ष छमबहादुर दरैले बताए । बजार क्षेत्रमा सडक बत्ति नहुदा प्रहरीलाई रातको समयमा सुरक्षा दिन समस्या परेको गुनासो आएपछि क्लबले तत्काल गुनासोलाई सम्बोधन गर्दै बत्ति जडान गरेको हो ।
रामपुर युवा क्लबले कोरोना महामारीको समयमा रामपुर अस्पतालको कोभिड वार्डमा उपचाररत बिरामी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बिरामीका कुरुवालाई निशुल्क खाना खुवाउने काम पनि गरिरहेको छ ।








