कालीगण्डकीको लम्करा टोलमा एकैदिन७४ जनामा संक्रमण पुष्टि

0
915
कालीगण्डकी गाउँपालिकाको तस्विर : तिलाचन पाण्डे

गिता पाण्डे
जेठ४,२०७८गुल्मीः गुल्मीमा मंगलबार एकै दिन १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ जनाको मृत्यु भएको छ ।
जिल्लाको तम्घासमा रहेको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ९४ जना ,एन्टिजेन परीक्षणमा ४५ जना र जिल्ला बाहिर गरीएको परीक्षणमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
एउटै टोलका ७४ जना संक्रमित
कालीगण्डकी गाउँपालिकाको वडा नम्वर ६ फोक्सिङको लम्करा टोलका ७४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य शाखाका प्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए । त्यस टोलका ९१ जनाको स्वाब परीक्षण गर्दा ७४ जनामा संक्रमण पुष्टि भएको हो ।
सोही टोलका ५१ बर्षका पुरुष र ५६ बर्षकी महिलाको संक्रमणका कारण जेठ एक गते मृत्यु भएको थियो । एउटै टोलमा ठुलो संख्यामा संक्रमण पुष्टि भएपछि स्वास्थ्यका मापदण्डहरुलाई कडाइसाथ लागु गरिएको र सबैको अबस्था सामान्य रहेको थापाले बताए । उनीहरु सबै होम आइसोलेशनमा रहेका छन् । संक्रमण हुनेमा एक बर्षका बच्चा देखि ९० बर्षका बृद्ध सम्मका रहेका छन् ।
एकैदिन ६ जनाको मृत्यु
गुल्मीमा एकैदिन (मंगलबार) ६ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
जिल्लाको सत्यवती गाउँपालिका वडा नम्वर ४ का ७५ बर्षका पुरुषको रिडी आइसोलेशन, वडा नम्वर ६का ४७ बर्षका पुरुषको पाल्पाको मिसन अस्पतालमा मृत्यु भएको कार्यालयले जनाएको छ ।
यस्तै चन्द्रकोट गाउँपालिका वडा नम्वर ४ का ६७ बर्षका पुरुषको उपचारका लागि पाल्पा लैजादै गर्दा बाटोमै मृत्यु भएको हो भने सोही गाउँपालिकाका ३६ बर्षका पुरुषको पोखराको मनिपाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यस्तै मालिका गाउँपालिका वडा नम्वर चारका ७९ बर्षका पुरुषको तम्घास अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो भने अर्का रुरुक्षेत्र गाउँपालिकाका ७३ बर्षका पुरुषको रेसुंगा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
यो संगै जिल्लामा संक्रमणका कारण मृत्यु हुनेको संख्या ५८ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या एक हजार एकसय आठ रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

SHARE