पत्रकार महासंघ गुल्मीद्धारा २० थान अक्सिजन सिलिण्डर अस्पताललाई प्रदान, जिल्लामै अक्सिजन प्लान्ट खोल्ने तयारी

0
416

गिता पाण्डे
जेठ२,२०७८ गुल्मी : नेपाल पत्रकार महासंघ गुल्मीले अस्पतालमा अक्सिजनको अभाब नहोस भनेर तम्घास अस्पताललाई २० थान अक्सिजन सिलिण्डर प्रदान गरेको छ ।
यस विपदको घडीमा अक्सिजन अभावले गर्दा बिरामीहरुले अकालमै ज्यान गुमाउन नपरोस भनेर करिब पाँच लाख बराबरको भरेको अक्सिजन सिलिण्डर खरिद गरी अस्पताललाई प्रदान गरिएको महासंघका अध्यक्ष टोपलाल अर्यालले जानकारी दिए ।
महासंघले विभिन्न संघ ,संस्था र ब्यक्तिहरुको सहयोगमा रकम संकलन गर्दै अक्सिजन सिलिण्डर खरिद गरी अस्पताललाई प्रदान गरेको हो । यस माहामारीको समयमा पत्रकार महासंघले अनुकरणीय कार्य गरेको भन्दै महासंघलाई तम्घास अस्पतालका डाक्टर उत्तम पच्याले धन्यबाद ब्यक्त गरे । महासंघले प्रदान गरेको अक्सिजन सिलिण्डरले संक्रमित बिरामीहरुको उपचारमा सहजता थपिदिएको पच्याले बताए ।
३६ लाख बढी सहयोग , जिल्लामै अक्सिजन प्लान्ट खोल्ने तयारी
महासंघले अक्सिजन अभाबकै कारण कसैले ज्यान गुमाउन नपरोस भनेर सहयोग अभियान चलाएको हो । आइतबार बिहानसम्म देश तथा बिदेशबाट करिब ३६ लाख ६२ हजार ५१५ रुपैयाँ सहयोग रकम जम्मा भएको छ ।
जिल्लामा विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा अक्सिजन प्लान्ट खोल्ने तयारी भइरहेको गुल्मी उद्योग बाणिज्य संघका महासचिब ताराप्रसाद भुसालले जानकारी दिए । नेपाल पत्रकार महासंघले चलाएको अभियानमै रहेर उद्योग बाणिज्य संघको कार्य समितिले आठ लाख ६७ हजार रुपैयाँ जम्मा गरीसकेको भुसालले बताए ।
अब जिल्लामा अक्सिजन सिलिण्डरले मात्र संभब नदेखिएकाले अक्सिजन प्लान्ट नै खोल्ने तयारी गरिएको जिल्ला स्थित सरोकारवालाहरुले बताएका छन् ।

SHARE