गुल्मीका १३२ जनामा कोरोना पुष्टि, तीन जनाको मृत्यु

0
601

सन्तोष महतारा
गुल्मी, ३० बैशाख ÷ गुल्मीको सदरमुकाम तम्घासमा रहेको कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा आज ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९५ जनाको पिसिआर परीक्षण गरिएको मध्ये ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो परीक्षण गरिएका मध्ये ६८.४२ प्रतिशत हो ।

गुल्मीमा गरिएको एन्टिजोन र जिल्लाबाहिर गरिएका पिसिआर परीक्षणमा थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । यो सँगै गुल्मीमा कुल संक्रमितको संख्या ८ सय १४ पुगेको छ ।
आज मृत्यु भएकासहित जिल्लामा ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज सम्म १३८ जना कोरोना जितेर घर फर्किएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख भवानी शर्माले जानकारी दिए । जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या ७७४ रहेको छ ।
जिल्लामा कोरोना संक्रमित राख्न मात्र बेडको संख्या १ सय ७१ रहेको छ । गुल्मीमा आइसियु र भेन्टिलेटरको सुविधा छैन । जिल्लामा अहिले ३९ वटा एम्बुलेन्स चलिरहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । गुल्मीमा आइसियु र भेन्टिलेटरको सुविधा नहुनाले प्रत्येक दिन बिरामीलाई हेलिकप्टर मार्फत चितवन र काठमाडौं पठाइएको छ ।
एकै दिन तीन संक्रमितको मृत्यु
गुल्मीमा आज कोरोना संक्रमित ३ जनाको मृत्यु भएको छ । जिल्लाको छत्रकोट गाउँपालिका ३ हर्दीनेटाका ३४ वर्षीया पुरुषको मिसन अस्पताल पाल्पामा मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिकाका ४ जैसीथोकका ३८ वर्षीय पुरुषको नेपाल प्रहरी अस्पताल काठमाडौंमा मृत्यु भएको छ ।
त्यस्तै जिल्लाको सत्यवती गाउँपालिका ६ खैरेनीका ४६ वर्षीय पुरुषको सत्यवती गाउँपालिकाले निर्माण गरेको आइसोलेशनमा मृत्यु भएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख भवानी शर्माले जानकारी दिए ।

SHARE