तालपोखराको स्तरोन्नती कार्य अन्तिम चरणमा

0
439

सुशीला रेग्मी
रामपुर (पाल्पा), २२ वैशाख : एक सय पर्यटकीय गन्तव्यस्थलका रुपमा सुचिकृत पाल्पा रामपुरको पर्यटकीय तालपोखराको स्तरोन्नती गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । तालमा भएको पानीलाई सुकाएर मर्मतको काम भइरहेको छ ।
ताललाई व्यवस्थित बनाउन ताल वरिपरीको तीन सय मिटर पर्खालको भित्ता ढलान, ८० मिटर पर्खाल ढलानको काम सम्पन्न भएको छ । साथै तालको बीचमा रहेको जलेश्वर महादेवको मन्दिर परिषरमा सेल्फी जोन समेत निर्माणको काम गरिएको छ ।
अहिले सम्म करिव ९० प्रतिशत भन्दा बढी काम सम्पन्न भइसकेको र अबको एक हप्ता दश दिन भित्रमा तालको सतह सम्याउने लगायतका विभिन्न कामहरु सम्पन्न गर्ने तालपोखरा संरक्षण समितिका अध्यक्ष तथा तालपोखरा पर्यटकीय पूर्वाधार निर्माण समितिका अध्यक्ष सागरप्रसाद देवकोटाले बताए ।
“कोरोनाको कहरले काममा केही अप्ठ्यारो बनाएपनि निर्माण कार्यलाई रोकेका छैनौँ, कोभिड १९ को सहज परिस्थिती हुदै गएको खण्डमा तालमा पानी राखेर डुङ्गा चलाउने योजनामा छौँ, पक्की पर्खाल नहुदा कहिलेकाँही भत्कने समस्या थियो, अब भित्ता सबै पक्की बनाएपछि पानी अडिनेछ” अध्यक्ष देवकोटाले भने ।
नेपाल सरकार पर्यटकीय विभाग भृकुटी मण्डव काठमाण्डौँद्धारा आर्थिक वर्ष २०७७÷०७८ मा प्राप्त भएको ५० लाख वजेट र जनसहभागीता रु नौ लाख ६० हजार ७७४ गरी जम्मा रु ५९ लाख ६० हजार ७७४ को वजेटबाट २०७७ माघको दोस्रो हप्तापछि स्तरोन्नतीको काम सुरु गरिएको हो । कास्की पोखराको फेवातालको झल्को दिने भएकाले तालपोखरा अवलोकनका लागि आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएपछि समितिले वर्षेनी स्तरोन्नतीको काम गरिरहेको छ ।
पर्यटकको थप आकर्षण बढाउनका लागि तालको वरिपरीको क्षेत्रमा विभिन्न फूल लगाउने, तालपोखराको पार्क परिषरमा बाल उद्यान निर्माण गर्ने तयारी गरिएको तालपोखरा संरक्षण समितिका सचिव सुनिल देवकोटा बताउनुहुन्छ । कोरोनाको जोखिमका बाबजुद पनि समितिले सतर्कता अपनाएर स्तरोन्नती कार्यलाई अगाडी बढाएको हो ।
रामपुर नगरपालिका वडा नं ६ मा पर्ने यस तालपोखरा पछिल्लो समय पर्यटकिय गन्तव्यस्थल बनेको छ । पर्यटकको आकर्षण बढ्दै गएकाले समितिले विभिन्न निकायबाट वजेट माग गरेर पूर्वाधार विकासको काम गर्दै आइरहेको छ ।
करिव ४५ रोपनी क्षेत्रफलमा पानी सहितको ताल रहेको छ । तालको बीच भागमा जलेश्वर महादेवको मन्दिर छ । तालको वरिपरी घेराबार, प्रवेशद्धारा, पर्यटकका निम्ति फोटो खिचाउन तालको आडैमा सेल्फी जोन लगायतका विभिन्न भौतिक पूर्वाधार निर्माण भइसकेको छ ।
तालपोखराको नाममा पोखरी सहित पार्क समेत रहेको छ । पार्कमा विभिन्न कार्यक्रम, वनभोज समेत हुने गरेको छ । ताल र पार्क सहित करिव ७५ रोपनी क्षेत्रफल तालपोखरा समितिको नाममा रहेको छ ।
सामान्य वर्षायामको पानी जम्मा हुने पोखरीलाई विकास गरी तालको रुपमा परिणत गरिएको हो । यहाँ पोखरीलाई व्यवस्थापन गरी डुङ्गा संचालन गर्न थालेपछि दैनिक तीन सय सयको हाराहारीमा आन्तरिक पर्यटक भित्रने गरेको समितिले जनाएको छ ।
पर्यटकका लागि यहाँ नियमित दुई वटा डुङ्गा संचालन गरिदै आइएपनि कोरोनाको कहरले पनि बिगत एक वर्ष देखि डुङ्गा संचालन गरिएको छैन । तालपोखरामा देशका पूर्व देखि पश्चिमका आन्तरिक पर्यटक अवलोकनमा आएका छन् । समितिले थप पूर्वाधार विकास गरी बाह्य पर्यटकलाई समेत यहाँ अवलोकनका लागि भित्र्याउने योजना बनाएको छ ।
तालपोखराको स्तरोन्नती गरिन थालेपछि स्थानीय पनि उत्साहित बनेका छन् । यसले रामपुरको पर्यटकिय विकासमा थप टेवा पुग्ने स्थानीय गोपाल कंडेल बताउछन् । हिजोआज पनि कोभिड १९ को रोकथाम गर्न पाल्पामा निषेधाज्ञा जारी भएपनि तालपोखरा परिषर क्षेत्रमा फ्याट्टफुट्ट नागरिकहरु रमाउन पुग्ने गरेका छन् । तालपोखराको परिषरमा केही समय बसेर अवलोकन गरी फर्कनेको चहलपहल छ ।

SHARE