बैशाख १९,२०७८गुल्मी : गुल्मीमा निषेधाज्ञाको अबज्ञा गरी चलाएका ५४ वटा सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
सदरमुकाम तम्घासका बिभिन्न स्थानबाट ५० वटा मोटरसाइकल र चारवटा जीपलाई नियन्त्रणमा लिइएको ट्राफिक प्रमुख कृष्णप्रसाद आचार्यले जानकारी दिए । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई तम्घासमा चिदीचौरमा राखिएको छ । बिहान देखि नियन्त्रणमा लिएका सवारी साधनहरुलाई सम्झाइ बुझाई कानुनी प्रक्रिया पुरा गरी पठाइने आचार्यले बताए ।
गुल्मीमा गएराती १२ बजेदेखि २५गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाको अवज्ञा गर्ने जो कोहीलाई पनि संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन संचालन ऐन २०२८ अनुसार कारवाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।
जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या २६६ जना रहेको र ११ जनाको संक्रमणका कारण ज्यान गइसकेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।