२ लाख सहकारीको ऋणले बनायो गुल्मीदरबारकी चन्द्रकलालाई सफल कृषक

0
768

तिलाचन पाण्डे
बैशाख १६,२०७८ गुल्मी : गुल्मीदरबार गाउँपालिका वडा नं ४ बीरबासकी ४० बर्षिय चन्द्रकला अर्याललाई ब्यबसायीक रुपमा तरकारी खेती गर्ने पहिले देखिनै रहर थियो । तर उनको आर्थिक अबस्था कमजोर हुँदा रहर पुरा हुन सकेको थिएन् ।
२०७६ असार ३ गते युवा स्वरोजगार कोश अन्र्तगत मिर्मिरे बचत तथा ऋण सहकारी मार्फत दूई लाख ऋण पाएपछि ब्यबसायीक रुपमा तरकारी खेती गर्ने रहर पुरा हुँदै गएको छ । उनको अहिले करिब दश रोपनी जग्गामा काउली , मुला , धनिया ,लसुन र स्थानीय जातको आलु खेती फस्टाउँदै गएको हो । तरकारी खेतीबाट आँफू सन्तुष्ट रहेको उनी बताउँछिन् ।
यति मात्रै होइन उनले तरकारी खेती मार्फत बार्षिक तीन देखि चार लाखसम्म खर्च कटाएर बचत समेत गर्ने गरेको बताइन् । तरकारी खेती मार्फत नै उनले १९ बर्षकी छोरीलाई उच्च माध्यमिक तह उर्तिण गराई १८ महिने जेटिए समेत पढाइन् । अहिले उनकी छोरीले लोक सेवाको परीक्षा दिएर नतिजाको प्रतिक्षामा छन् ।
अर्का १६ बर्षका छोरा अहिले कक्षा १० मा अध्यनरत छन् । छोराछोरीलाई पढाउनका साथै छिमेकमा सरसापट चलाउन श्रीमानकोे मुख ताक्न नपर्ने उनको भनाई छ । तरकारी खेती मार्फत नै आत्म निर्भर बन्न सफल भएको र ब्यबसायीक रुपमा तरकारी खेती गर्ने रहर स्वरोजगार मार्फत लिएको २ लाखले पुरा गरिदिएको उनले बताइन् ।
कृषि उपज बस्तुहरु जति उत्पादन गरे पनि बजारको समस्या नरहेको अर्यालको भनाई छ । आगामी दिनमा आँफूलाई तालिम र तरकारी खेती बिस्तारका लागि थप सुलभ कर्जा पाएमा सहज हुने उनले बताइन्
यता मिर्मिरे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ठाकुरप्रसाद शर्माले चन्द्रकलाले गरेको मेहनतबाट सबैले पाठ सिक्नुपर्ने बताए । सहकारी संस्थामार्फत स्वरोजगार कोशको ऋण लिएकी चन्द्रकलाले संस्थाको सिर ठाडो पारिदिएको उनको भनाइ छ ।
चन्द्रकलाले जस्तै सबैले मेहनत गर्ने हो भने आत्म निर्भर बन्न सकिने र गरिबी न्यूनीकरण गर्नमा सहयोग पुग्ने शर्माको दाबी छ । संस्थामा एक्लैले केही गर्न नसकिने भन्दै सबैको साथ र सहयोग रहेमा नमूना सहकारी बन्न सक्ने शर्माले बताए ।
ब्यबसायीक रुपमा कृषि र पशुपालन गर्नेलाई गाउँपालिकाले अनुदान सङगै उपकरण पनि पद्रान गर्ने कार्यक्रम रहेको गुल्मीदरबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए ।

SHARE