गुल्मीका अधिकांश बिद्यालय बन्द, धुर्कोट र छत्रकोटमा परीक्षा संचालन

0
429

बैशाख १५,२०७८ गुल्मी : देशभर कोरोनाको संक्रमण बढेसंगै सरकारले भौतिक उपस्थितीमा हुने सबै परीक्षाहरु स्थगित गर्ने निर्णय गरेपनि गुल्मीमा भने कतै परीक्षाहरु संचालन भइरहेका छन् भने कतै बिद्यालयहरु बन्द छन् ।
जिल्लाको कालीगण्डकी ,चन्द्रकोट ,सत्यवती,रुरुक्षेत्र,इश्मा , गुल्मीदरबार मालिका , मदान गाउँपालिका र रेसुंगा नगरपालिकाले सबै परीक्षाहरु स्थगित गरी बिद्यालयहरु बन्द गरेकोे जनाएका छन् ।
धुर्कोट गाउँपालिकामा १७ गतेसम्म परीक्षा चल्ने
जिल्लाको धुर्कोट गाउँपालिकाले सरकारले सबै परीक्षा स्थगित गर्ने निर्णय गरेपनि उसले परीक्षा चलाइरहेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थीले गाउँपालिका भित्रका बिद्याालयहरुमा परीक्षा चलिरहेको जानकारी दिए । परीक्षा चलाइरहेकोले बैशाख १७ गतेसम्म दिनका दूईवटा बिषयहरुको परीक्षा लिएर भएपनि १७ गतेसम्म सक्ने गरी गाउँपालिका लागेको पन्थीले बताए ।
छत्रकोटमा बुधबार (आज)बाट परीक्षा
यता छत्रकोट गाउँपालिकाले आज अर्थात बुधबारबाट परीक्षा संचालन गरेको छ । बुधबारबाट कक्षा ८ बाहेकका परीक्षाहरु संचालन गरिने र कक्षा ८ को भने १९ गतेबाट परीक्षा लिइने शिक्षा शाखाका रोमनाथ कंडेलले जानकारी दिए । यस्तै खरज्याङ र दौघामा परीक्षा संचालनमा नआएको शिक्षा शाखाले जानकारी दिएको छ ।
आँफूहरुले यस्तो माहामारीको बेलामा परीक्षा संचालन नगरौ भन्दा पनि अध्यक्ष मधुकृष्ण पन्तले परीक्षा संचालन गर्ने भनेपछि आँफूहरु बाध्य भएर परीक्षा लिन लागेको नाम नबताउने शर्तमा एक बिद्यालयले जानकारी दिएको छ ।
यस्तै मुसिकोट नगरपालिकाले १५ गते (आज)बाट परीक्षा संचालन गर्ने सोच गरेपनि स्थगित गरिएको नगरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिए । केन्द्र सरकारले नै परीक्षा स्थगित गर्ने भनेपछि आँफूहरु पनि सोही निर्णयलाई पालना गर्ने गरी लागेको उनको भनाई छ ।

SHARE