गुल्मीमा कोरोना संक्रमणदर बढ्दो ,मन्त्री ज्ञवालीले उद्घाटन गरेको परीक्षण प्रयोगशाला बन्द

0
485

बैशाख १४,२०७८ गुल्मी : पछिल्लो १३ दिनमा गुल्मीमा संक्रिय कोरोना संक्रमितको संख्या ७६ पुगेको छ भने ४ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । तर गत असोज १ गते नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले धुमधामका साथ उद्घाटन गरेको गुल्मीमै रहेको कोरोना परीक्षण प्रयोगशाला बन्द भएको छ ।
गुल्मीका स्थानीय तहहरुको सहयोगमा रेसुंगा नगरपालिकाको संयोजनमा संचालनमा आएको प्रयोगशाला बजेट अभाबका कारण बन्द भएको हो ।
परीक्षण प्रयोगशालामा काम गर्ने १० जना कर्मचारीहरुले पाँच महिनाको तलब नपाइ रित्तो हात घर फर्किएका हुन् । तर यहाँका सरोकारवालाहरुले भने उनीहरुको पारिश्रमिक दिनका लागि र कारोना परीक्षण प्रयोगशाला संचालनमा ल्याउनका लागि चासो दिएको पाइदैन् ।
गुल्मीमै कोरोना परीक्षण प्रयोगशाला भएपनि अब परीक्षणका लागि स्वाव परीक्षणका लागि रुपन्देही पठाउनुपर्ने भएको छ । यहाँको परीक्षण प्रयोगशाला तत्काल संचालनमा आउने संभावना भने कम देखिएको छ ।
तत्काल संचालनमा ल्याउन सक्दैनौँ : मेयर भुसाल
रेसुंगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले नगरपालिकाले परीक्षण प्रयोगशाला संचालनमा ल्याउन सक्ने अबस्था नभएको बताए । परीक्षण प्रयोगशाला संचालन गर्न धेरै खर्चिलो हुने र पहिलेकै कर्मचारीहरुलाई पनि पारिश्रमिक दिन नसकिएको उनले बताए ।
यता जिल्ला कोरोना संकट ब्यबस्थापन केन्द्रले कोरोना परीक्षण प्रयोगशाला संचालनका लागि प्रदेश सरकारसंग बजेट माग गर्ने र दीर्घकालिन रुपमा संचालन गर्नका लागि केन्द्रिय सीसीएमसीलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ ।
सक्दो सहयोग गर्छौ : जंग नेपाली
यता परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका स्वकीय सचिब जंग नेपालीले ल्याब संचालन गर्ने बिषय गुल्मीका स्थानीय तहहरुको भएको बताए । दीर्घकालीन रुपमा ल्याब संचालन गर्ने गरी योजना बनाउन आँफूहरुले पटक पटक भनेको प्रतिक्रिया दिदै उनले आँफूहरु सक्दो सहयोग गर्नका लागि पछाडी नपर्ने बताए ।

SHARE