बैशाख ९,२०७८ दाङ: दाङका स्थानीयतहरूले खरको छानो मुक्त बनाउन लागेका छन्।
यसअघि तुलसीपुर र घोराहीले अभियान शुरू गरेका थिए। यस आर्थिक वर्षदेखि बबई गाउँपालिका र दंगीशरण गाउँपालिकाले पनि खरको छानो मुक्त गाउँपालिका बनाउने अभियान शुरू गरेका छन्।
दंगशीरण गाउँपालिकाले हालसम्म विपन्न समुदायका २५५ घरधुरीलाई जस्तापाता वितरण गरेको छ। वर्षौंदेखि खरले छाएका घरमा बस्दै आएका ती घरधुरीहरूलाई यस आर्थिक वर्षमा जस्तापाता वितरण गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकामा यस वर्ष २५५ जनालाई जस्तापाता वितरण गर्ने लक्ष्य लिइएको थियो, भने २०९ घर परिवारलाई ५० हजारका दरले प्रति परिवारलाई रकम उपलब्ध गराउने तयारी भइरहेको गाउँपालिका अध्यक्ष भागिराम चौधरीले बताएका छन्। गाउँपालिकाले एकल, अपांगता, दलितहरूलाई प्राथमिकतामा राखेर जस्तापाता वितरण गरेको उनले जानकारी दिए।
संघीय सरकारको सहयोगमा स्थानीय तहले खरका छाना हटाएर जस्तापाताले घर छाउने कार्यक्रम ल्याएको हो। विशेषगरी दंगीशरण गाउँपालिकाका १ र २ नम्बर वडा विकट मानिन्छन्। त्यहाँका विपन्न नागरिकहरूलाई मध्यनजर गर्दै जस्तापाता वितरण गरिएको गाउँपालिकाले जनाएको छ।
आगलागी र अन्य विपतका घटना बढ्न थालेपछि फुसको छानो हटाउने अभियान अन्तर्गत संघीय सरकारको सहयोगमा स्थानीय सरकारले खरको छानो हटाइ वडा कार्यालय मार्फत घरपरिवार छनौट गरी जस्तापाता वितरण गर्ने योजना अघि सारेको अध्यक्ष चौधरीले जानकारी दिए। जस्तापाता वितरणले आगलागी, पानी चुहिने जस्ता समस्याबाट छुटकारा पाइएको भन्दै नागरिक खुशी भएका छन्।
त्यस्तै बबई गाउँपालिकाले पनि यस वर्ष ५७२ घरपरिवारलाई जस्तापाता वितरण गर्ने लक्ष्य लिएको जनाएको छ। गाउँपालिकामा खरको छाना भएका करिब १३ सय घरहरू छन्।
हालसम्म २३५ घरपरिवारलाई जस्तापाता वितरण गरिएको गाउँपालिकाका प्रेस संयोजक प्रेम बहादुर राम्जाले जानकारी दिए। उनका अनुसार २४१ घरपरिवारलाई जस्तापाताको लागि ५० हजारको दरले अनुदान दिने र बाढीपीडित ९६ घरपरिवारलाई समेत जस्तापाता दिइने छ।