रेसुङ्गा बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायमा स्नातकोत्तर अध्ययनका लागि छलफल

0
408

सन्तोष महतारा, ०७ बैशाख गुल्मी

गुल्मीको तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसले व्यवस्थापन संकायमा स्नातकोत्तर अध्ययनका लागि सरोकारवालाहरुसँग छलफल गरेको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायबाट खटिएका पाटन संयुक्त क्याम्पस पाटनढोकामा कार्यरत प्राध्यापक डा।युवराज भट्टराई, पाल्पा बहुमुखी क्याम्पस पाल्पामा कार्यरत सहप्राध्यापक केशव शर्मा, व्यवस्थापन केन्द्रीय विभाग किर्तिपुरमा कार्यरत सहप्राध्यापक ज्ञानमणी अधिकारी र व्यवस्थापन संकाय डीनको कार्यालयमा कार्यरत सुनी श्रेष्ठसँग गुल्मीका सरोकारवालाहरुको छलफल भएको रेसुङ्गा बहुमुखी क्याम्पस प्रमुख हरी बहादुर खत्रीले जानकारी दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका सचिव प्रेम सुनारले व्यवस्थापन संकायमा स्नातकोत्तर अध्ययन हुने कुराले उत्साहित भएको भन्दै क्याम्पस आङ्गिक हुने कुरा अलपत्र परेकोमा दुख ब्यक्त गरे । उनले क्याम्पस आङ्गिक हुने कुरालाई पनि प्राथमिकता दिएर अगाडि बढ्न आग्रह गरेका छन् ।

व्यवस्थापन संकायमा स्नातकोत्तर अध्ययन हुने कुरालाई सबैले सकारात्मक भन्दै सबै लागी परेर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए । कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायबाट खटिएका सहप्राध्यापक ज्ञानमणी अधिकारीले विभिन्न समस्या भएपनि जिल्लामा यो आवश्यक रहेकोले आफुहरुले छलफल गर्न खोजेको बताए ।

क्याम्पसको सहयोग का लागि आवश्यक स्थानमा समन्वयका लागि तयार भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले बताए । कार्यक्रममा रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसाल लगायतका जनप्रतिनिधि, राजनितीक दलका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।

क्याम्पस संचालक समिति अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रमको संचालन क्याम्पस प्रमुख हरी बहादुर खत्रीले गरेका थिए । कार्यक्रममा क्याम्पस संचालक समिति उपाध्यक्ष धर्म विश्वकर्माले कार्यक्रममा स्वागत मनतव्य राखेका थिए ।

SHARE