गुल्मीमा नेविसंघको स्थापना दिवस मनाइयो

0
31

गुल्मी, वैशाख ६ । गुल्मी जिल्लामा नेविसंघको ५२ औं स्थापना दिवस मनाइएको छ । जिल्लाको सदरमुकाम तम्घासस्थित नेपाली कांग्रेसको पार्टी कार्यालय विपी स्मृति भवनमा दिवसको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाइएको हो । कार्यक्रम नेपाल विद्यार्थी संघ गुल्मी क्षेत्र नं। २ को आयोजनामा गरिएको नेविसंघका क्षेत्रीय सभापति अर्जुन पोखरेलले जानकारी दिए ।

त्यस अवसरमा नेपाली काँग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले छिट्टै काँग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सभापति श्रेष्ठले भने ‘मुलुकले राजनैतिक निकास पाउन सकेन् । कुर्चीका लागि होइन । व्यवस्था टिकाउनका लागि पनि काँग्रेसले अग्रसरता देखाउन जरुरी छ । यो सिस्टम नै कोल्याप्स हुने स्थितिमा पुगेको छ।’

सभापति श्रेष्ठले ढिलो चाँडो केही दिनमै काँग्रेसको नेतृत्वमा सरकार बन्ने दाबी समेत गर्नुभयो। अहिले अनिर्णयको बन्दी समेत बनेको बताए । उनले नेविसंघको काँधमा ठुलो जिम्मेवारी रहेको उल्लेख गरे । संसारका कुनै पनि तानाशाह विद्यार्थी शक्ति संग डराउने बताए । ‘संसारका कुनै पनि तानाशाह यदि कसैसंग डराउँछ भने त्यो वास्तवमा विद्यार्थी शक्ति संग डराउँछ। तरुण शक्ति संग डराउँछ।’ सभापति श्रेष्ठले भने,‘विद्यार्थी शक्ति जोसँग जोस मात्र होइन होस पनि हुन्छ। होस मात्र होइन जोस पनि हुन्छ।’

नेपाली काँग्रेसका जिल्ला सचिव खिलध्वज पन्थीले भातृ संस्थाहरूलाई बलियो बनाएर लैजान आवश्यक रहेको बताए । हरेक विद्यालयमा संगठन विस्तार गर्न आग्रह समेत गरे । काँग्रेसले र देश र जनताको पक्षमा काम गरे लोकप्रिय बन्ने बताए ।

नेपाली काँग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सदस्य छन्द बहादुर पहराईले कम्युनिस्टको अवस्था अहिले सामन्ती, पूँजीवादी, नाटकको टालो हालेर चिन्नै नसक्ने अवस्थामा गएको आरोप लगाए । नेविसंघ भोलिको खम्बा भएकाले सशत्त बनाउन आवश्यक रहेको बताए ।

त्यस अवसरमा महासमिति सदस्य महेन्द्र भण्डारी, तरूणदल क्षेत्रिय सभापति झविन्द्र अर्याल, नेविसंघ कार्यवाहक सभापति राम्जी पन्थी, नेविसंघ नेतृ पार्वती कुँवर लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा नेविसंघ नेता पुनाराम घिमिरेको स्वागत तथा कमल कुँवरको सञ्चालन रहेको थियो ।

SHARE