पैयुँका आगलागीपीडित त्रिपालमुनि बस्न बाध्य

0
594

बैशाख १,२०७८ पर्वत : पैयुँ गाउँपालिका–६, सरौँखोलास्थित डाँडाकाहुँको आगलागीपीडित त्रिपालमुनि बस्न बाध्य भएका छन्। गत चैत २७ गते दिउँसो भएको आगलागीबाट आठ घर र १५ वटा गोठमा पूर्ण तथा आंशिक क्षति भएको थियो।

घर, अन्न लगाउने लत्ता जलेपछि केहीको बास त्रिपालमुनि भएको छ। कोही भने जलेकै घरको बाँकी रहेको अंशमा त्रिपालले बेरेर रात कटाउन बाध्य भएका छन्।

‘हाम्रो त यस्तै हालत भयो हजुर के गर्नुरु घर जल्यो, गोठ जल्यो, त्रिपालले बारेर बस्नुपरेको छ। घरमा अन्न र कपडा पनि केही छैन,’ पीडित कमला गौतमले भनिन्, ‘यसै त गुजारा चलाउन मुस्किल थियो। मजदुरी गरेर जसोतसो छाक टार्दै आएका थियौँ। त्यही भएको घर र सम्पत्ति पनि आगोले खायो।’

सोही ठाउँका शेरप्रसाद गौतमको पनि अवस्था उस्तै छ। आगलागी पीडितमध्येका अति विपन्न परिवार उनैको हो। ५५ वर्षीय गौतमको पनि घर र गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ। ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका उनको जग्गामा उब्जिएको अनाजले एक महिना पनि खान पुग्दैनथ्यो। २०७२ साल अगाडि उनी घुमाउने घरमा बस्दै आएका थिए। तर, ०७२ को भूकम्पले त्यो घर भत्किएपछि पुनर्निर्माण प्राधिकरणबाट पाएको रकम र स्थानीयको सहयोगमा उनले नयाँ घर बनाए। अहिले त्यही घर समेत जलेर खरानी भएको छ।

रेशमलाल र शेरप्रसाद जस्तै खड्कप्रसाद गौतम, नमप्रसाद सापकोटा, एकनारायण गौतम, रेशमलाल सापकोटा, अम्बिकादेवी गौतम, हेमनाथ गौतम, छविलाल गौतम, उमेश गौतम, जगन्नाथ गौतम र डिल्लीराम न्यौपानेमध्येका कोहीका घर र गोठ आगोले पूर्ण क्षति गरेको छ। कोहीको आंशिक क्षति भएको छ। उनीहरुको करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको छ।

पीडितलाई पैयुँ गाउँपालिकाले सुरुमा प्रतिपरिवार १० हजार रुपैयाँसहित खाद्यान्न र लत्ताकपडा दिएको थियो। गण्डकी प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले गण्डकी प्रदेश सरकारमा रहेको विपद् कोषमार्फत पीडित ८ घरलाई प्रतिघर १० हजार रुपैयाँसहित पाँचवटा टेन्ट र १२ थान त्रिपाल दिएका छन्। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतले अति विपन्न पाँच परिवारलाई भान्साका सामग्रीसहितका दैनिक रूपमा आवश्यक पर्ने वस्तु र त्रिपाल दिएका छन्।

SHARE