रेसुंगाका ७२ जना किशोरीहरुका लागि आत्मरक्षा सम्बन्धी तालिम

0
672

चैत १८,२०७७ गुल्मी : जिल्लाको रेसुंगा नगरपालिकाले ७२ जना किशोरीहरुका लागि आत्म रक्षा सम्बन्धी तालिम दिएकोे छ ।
पछिल्लो समयमा महिला हिंसा , बलत्कार लगायत किशोरीहरु प्रति हुने जबरजस्ती कार्यहरुबाट बच्नका लागि यसरी तालिम आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।
महिलाहरु एक्लै बाटोमा हिड्दा वा अन्य महिला हिंसा सम्बन्धी हुने कार्यहरुबाट सुरक्षित हुनका लागि यस तालिमले सहज हुने महिला,बालवालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख कल्पना पाण्डेले जानकारी दिइन् । किशोरीहरु शारीरिक ,मानसीक रुपमा कमजोर महसुस नहुन र परि आएको खण्डमा आँफू सुरक्षित हुनका लागि यस तालिमले महत्वपुर्ण भूमिका खेल्ने पाण्डेको दाबी छ । यस्तै किशोरीहरुका लागि सकारात्मक सोच बिकास गर्न , महिला हिंसाहरुबाट बच्न पनि तालिममा सिकाइएको हो ।
नगर उपप्रमुख सीता भण्डारीले किशोरीहरुका लागि आत्मरक्षा सम्बन्धी तालिम आवश्यक ठानेकाले तालिमको आयोजना गरिएको बताइन् । तालिमलाई भरपुर रुपमा प्रयोग गर्न आग्रह गर्दै ,किशोरीहरु सुरक्षित रहन , महिला हिंसा संगै शारीरिक र मानसिक रुपमा कमजोर महसुुस नहुने नगरपालिकाले बिश्वास लिएको छ ।
नगरपालिकाको दूई लाख रुपियाँको बजेटबाट तालिम आयोजना गरिएको हो । तालिममा सहभागीहरुलाई खाजा खर्च र यातायात बापतको रकम पनि उपलब्ध गराइने नगरपालिकाले जनाएको छ । तालिममा रेसुङगा नगरपालिकाका १४ वटा वडामा रहेका माध्यमिक बिद्यालयका किशोरीहरुको सहभागिता थियो ।
तालिम पश्चात किशोरीहरुले आँफूहरु सुरक्षित रहनका लागि धेरै ज्ञान र सीप हासिल गरेको बताएका छन्। काठमाण्डौका तालिम प्राप्त दुई जना प्रशिक्षकहरुले तालिमको सहजीकरण गरेका थिए ।

SHARE