चैत १५,२०७७ दाङ : जिल्लाका यातायात मजदुर तर व्यवसायी आन्दोलित भएका छन्। उनीहरुले विभिन्न माग राख्दै आउँदो मंगलबार ९चैत १७० गते देखि सार्वजनिक यातायात सेवा अनिश्चितकालीन बन्दको घोषणा गरेका छन्।
यातायात मजदुरसँग सम्बन्धित तीन वटा यातायात मजदुर संगठनले आइतबार पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन जिल्ला कमिटी दाङ, नेपाल यातायात मजदुर संघ इकाइ तुलसीपुर र अखिल नेपाल यातायात मजदुर संघ, दाङले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेका थिए।
कोरोना माहामारीका कारण लामो समयसम्म समस्यामा परेका यातायात मजदुर पछिल्लो समय यातायात व्यवसायीको अस्वस्थ्य प्रतिस्पर्धाका कारण झनै समस्यामा परेको भन्दै आफूहरु आन्दोलित भएको संगठनका जिल्ला अध्यक्ष केशव बहादुर भण्डारीले बताए।
यसअघि पनि तीन वटै मजदुर संगठनहरुले आफ्ना माग कार्यान्वयन गर्न सम्बन्धित यातायात प्रालिका पदाधिकारीसँग बारम्बार छलफल र वार्ता गरेका थिए। तर कुनै सुनुवाइ नभएको भन्दे आफूहरू यस्तो निर्णय गर्न बाध्य भएको यातायात मजदुर संघ इकाइ तुलसीपुरका अध्यक्ष सुवर्णराज भण्डारीले बताए।
पहिलो चरण अन्तर्गत जिल्लामा सार्वजनिक यातायात सेवा ठप्प पार्ने र माग पूरा नभए थप संघर्ष गर्दै सम्पूर्ण यातायात क्षेत्र बन्द गर्ने उनीहरुको चेतावनी छ।
यातायात मजदुर तथा बुकिङका कर्मचारीले सहज रुपमा तलब भत्ता पाउन नसकेकाले यसको ग्यारेन्टी हुनुपर्ने, नेपाल सरकारले जारी गरेको सामाजिक सुरक्षा कोष ऐन २०७४ सम्बन्धित यातायात प्रालिले लागु गरी कार्यान्वयन गर्नुपर्ने र कार्यन्वयनका लागि नेपाल सरकारले तदारुकता देखाउनुपर्ने उनीहरूको माग छ।