आश्रममै पुगेर निःशुल्क स्वास्थ्य परीक्षण

0
629

मनु सुनार मनसुन
चैत १५,२०७७ गुल्मी :सत्यवती गाउँपालिका रूद्रवेणीमा रहेको राम मन्दिर तारकेश्वर परमानन्द सन्यास आश्रममा रहेका कल्पबासीहरूलाई सहयोग पु¥याउने उदेश्यले विभिन्न संघ संस्थाहरू पुगेका छन् ।
शनिवार वडा नम्बर–१ अस्लेवा, रूद्रवेणीधाममा अवस्थित यस आश्रममा जिल्लामा रहेका नेपाल नेत्र ज्योति संघ, नेपाल हृदयरोग निवारण प्रतिष्ठान र नेपाल औषधी व्यवसायी संघ पुगि विभिन्न सहयोगरुपी कार्यक्रम गरेका थिए ।

नेपाल नेत्र ज्योति संघले मन्दिरमै पुगि कल्पबासीहरूको आँखा जाँच गरेको छ । ४३ औं नेत्र ज्योति दिवसको अवसरमा १२ गते गुल्मी अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरेको नेत्र ज्योति संघले १३ गते रेसुंगा नगरपालिका वडा नम्बर १ का जेष्ठ नागरिकहरूको निःशुल्क आँखा जाँच तथा १४ शनिबार गते सत्यवती गाउँपालिका रूद्रवेणी,राम मन्दिरमा रहेका कल्पवासीहरूको निःशुल्क आँखा तथा सुगर जाँच गरि नेत्र ज्योति दिवस मनाइएको सभापति सेरबहादुर थापाले जानकारी दिए ।

आश्रममा रहेका ४४ जनाको निःशुल्क आँखा जाँच गरिएकोमा ४ जनाको शल्यक्रिया गर्नुपर्ने देखिएको छ । उनीहरूको निःशुल्क मोति विन्दुको शल्यक्रिया गरिने सभापति थापाले बताउनुभयो । सामाजिक संघसंस्थाहरूले करौतीको रूपमा काम गर्नुपर्ने बताए । उनले नेत्र ज्योति संघद्वारा जिल्लाका विभिन्न स्थानमा गएर शिविर सञ्चालन गर्दै आएको समेत बताए ।

यस्तै नेपाल हृदयरोग निवारण प्रतिष्ठान गुल्मी, शाखाले आश्रममा रहेका कल्पवासीहरूको निःशुल्क सुगर, रक्तचाँप परीक्षणसंगै उनीहरूलाई रामनामी खादाद्वारा सम्मान गरेको सभापति अखिलेश्वर प्रसाद पाण्डेले बताए । पेशागत विभिन्न संघसंस्थाहरू स्थापित भएपनि समाजिक कार्य राज्यलाई सहयोग गर्नु सबैको साझा उदेश्य रहेको बताए ।

नेपाल औषधी व्यवसायी संघ गुल्मीले आश्रममा रहेका कल्पवासीहरूका लागि भोजन गराएको अध्यक्ष महेशकुमार श्रेष्ठले बताए । साथै नेपाल औषधी व्यवसायी संघ लुम्बिनी प्रदेशका नवनिर्वाचित कार्य समितिलाई सोही आश्रममा भव्य रूपमा स्वागत समेत गरेको उहाँले जानकारी दिए । कल्पवासीहरूका लागि आवश्यक पर्ने औषधी आवश्यकता अनुसार उपलब्ध गराउने श्रेष्ठले बताए ।

बबिता फर्मा तम्घास गुल्मीका व्यवस्थापक पार्वता थापाले आश्रममा रहेका कल्पवासीहरूका लागि दराज हस्तान्तरण गरेका थिए । त्यहाँ रहेका कल्पबासीहरूले प्रयोग गर्ने औषधी व्यवस्थापनका लागि सहयोग पु¥याउने उदेश्यले दराज हस्तान्तरण गरेको थापाले बताए ।

त्यस अवसरमा नेपाल औषधी व्यवसायी संघ पाल्पाका अध्यक्ष रामलाल श्रेष्ठ, लुम्बिनी प्रदेशका अध्यक्ष शिव ज्ञवाली लगायतले आश्रमका लागि आवश्यक सहयोगका लागि आफुहरू प्रतिवद्ध जनाए ।

गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले आश्रममै आएर गरेको सहयोग तथा सेवाप्रति तीनवटै संघसंस्थाहरूलाई धन्यवाद दिए । यश आश्रममा अहिले ४५ जना कल्पबासीहरू बस्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सहयोगका लागि आग्रह गरे । कार्यक्रमको सञ्चालन औषधी व्यवसायी संघ गुल्मीका महासचिव गणेश श्रेष्ठले गरेका थिए । आश्रममै आएर गरेको सेवाप्रति कल्पबासीहरु हर्षित भएका छन् ।

SHARE