मदानेका १५ सय बढीले निशुल्क स्वास्थ्य शिबिरबाट लाभ लिए

0
270
फाइलफोटो

हुमाकान्त पोखरेल
चैत १३,२०७७ गुल्मी : गुल्मीको मदाने गाउँपालिकाले संचालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट कुल एक हजार ५६५ जना लाभाम्बित भएका छन् ।
गाउँपालिकाको ४० र हेल्प नेपालको ६० प्रतिशत साझेदारीमा मदाने गाउँपालिका –२ मा चारदिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको थियो । आँखा, दाँत र महिलासम्बन्धि गाइनो रोगको चैत १० गतेदेखि निःशुल्क स्वास्थ्य शिविर संचालन भएको थियो ।
जसअन्तरगत २९८ जनाले दाँत, २३५ जनाले महिलासम्बन्धि, ६६४ जनाले आँखासम्बन्धि तथा ३८८ जनाले जनरल ओपिडीमा जाचँ गराएका छन् । शिविरमा ५१ जनाको आँखाको निःशुल्क शल्लिक्रिया गरिएको छ भने ११ जना महिलाको पाठेघरमा रिङ प्रेसर राखिएको मधाने सामुदायिक स्वास्थ्य केन्द्रका प्रशासन प्रमुख यमलाल भुसालले जानकारी दिए ।
डा. अर्जुन श्रेष्ठको नेतृत्वको समुहले आँखाको मोतियाबिन्दुको शल्लिक्रिया गरेको थियो । डा. बिजु श्रेष्ठको नेतृत्वको समुहले दाँतसम्बन्धि तथा डा. बालगोविन्द चौधरी नेतृत्वको समुहले महिला रोगसम्बन्धि उपचार गरेको हेल्प नेपालका कार्यक्रम संयोजक कृष्ण ढकालले जानकारी दिए ।
मदाने गाउँपालिका –१ अग्लुङका दान बहादुर विष्ट ७७ बर्षका भए । लामो समयदेखि उनको आँखाको दृष्यशक्ति कम भएको महसुस गरेका थिए । तर विविध कारणले उपचार गराउन बुटबल वा अन्य ठाउँमा जान सकेका थिएनन् ।
गाउँमै आयोजना भएको निःशुल्क स्वास्थ्य शिविरमा उनको आँखाको शल्लिक्रिया भयो । त्यसपछि उनी खुसि भएका छन् । ‘घरमा परिवारका सदस्य भएपनि उपचारकै लागि टाढा जान सकिएको थिएन ।’ उनले भने, ‘गाउँमै आँखाको सफल र निःशुल्क अप्रेशन गर्न पाउँदा हर्ष लागेको छ ।’मदाने गाउँपालिका –३ सिर्सेनीका ६६ बर्षका कृष्ण परियारले पनि शिविरमै आँखाको शल्लिक्रिया गराए ।
निर्वाचनका बेला नेताहरुले भोट माग्दा गरेको प्रतिवद्धता अहिले पुरा गरेको उनी बताउछन् । ‘रकम अभावले उपचार गराउन सकिएको थिएन ।’ परियारले भने, ‘गाउँपालिकाले गर्दा मेरो आँखा जोगिएको छ, खुसि लागेको छ ।’ त्यसका साथै उनले शिविर आयोजना गर्ने गाउँपालिका, हेल्प नेपाल, आँखाको शल्लिक्रिया गर्ने डाक्टर लगायत सबैलाई धन्यवाद् दिए ।

गाउँपालिका उपाध्यक्ष सरिता खड्काले नागरिकको स्वास्थ्यसम्बन्धि अधिकारलाई सुनिश्चित गर्नको लागि शिविर आयोजना गरिएको बताइन् । त्यसका साथै ६० बर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क यातायातको समेत सुविधा गराइएको उनले जानकारी दिइन् ।
गाउँगाउँमा आयोजना गरिने शिविरले नागरिकलाई उपचारको लागि तम्घास, बुटबल, भैरहवा, काठमाडौ लगायतका ठाउँमा जान नपरेको र खर्च समेत जोगिएको खड्काले बताइन् ।सेवा लिनको लागि मदाने गाउँपालिकाका विभिन्न वडाको साथसाथै धुर्कोट, मालिका, इस्मा, बाग्लुङको बडिगाढ तथा प्युठानको झिमरुक गाउँपालिकाबाट समेत नागरिक मदाने पुगेका थिए ।

SHARE