विवाहको खर्च रकम क्लवलाई

0
629

गुल्मी, कार्तिक ८रनेपाली समाजमा विवाह गर्दा धेरै तडक भडक गर्ने प्रचलन रहेको छ । जन्तीदेखि सबैतिर भोज खुवाउने र धेरै खर्च गर्ने प्रचलन चलिरहेका बेला जिल्लाका एक युवाले भने विवाहको भोजमा गर्ने खर्च क्लवलाई सहयोग गर्ने भएका छन् ।

जिल्लाको मुसिकोट नगरपालिका २ मुसिकोट बगैँचा निवासी समाजसेवी युवा विष्णु अधिकारीले विवाह गरेर भोज भतेरमा रकम खर्च नगरी सोही वडाको खड्गदेवी युवा क्लवलाई नगद ६० हजार सहयोगको घोषणा गरेका हुन् । पछिल्लो समयमा समाजमा विवाह, ब्रतबन्ध, पुजाआजा लगायतका कार्यमा निकै भड्किलोपन बढेको भन्दै त्यसलाई निरुत्साहित गरी नयाँ संस्कार, संस्कृति र परम्पराको थालनी गर्न विवाहको भोजमा खर्च गर्ने रकम क्लवलाई दिने घोषणा गरेको बताए । हाल वैदेशिक रोजगारीको शिलशीलामा रिपब्लिक चेकमा कार्यरत रहेका समाजसेवी अधिकारीले उक्क्त रकम क्लवले आयोजना गरेको खुल्ला भलिबल तथा विविध साँस्कृतिक कार्यक्रमका अवसरमा दिने बताएका छन् ।

पछिल्लो समयमा गाँउटोलमा हुने साना ठूला विभिन्न सभा समारोह शुभकार्य तथा कार्यक्रममा बाहिरबाट टेन्ट ल्याएर कार्यक्रम गर्नुपर्ने भएकाले अब त्यो समस्यालाई हल गर्नका लागि उक्त सहयोग रकमबाट क्लवलाई टेन्ट र आवश्यक अन्य सामग्री खरिद गरिने क्लवका उपाध्यक्ष रामप्रसाद आचार्यले जानकारी दिए । क्लवले समाजसेवी अधिकारीले समाजप्रति देखाएको सहयोग र सद्भावको प्रशंसा गर्दै धन्यवाद दिएको छ ।

SHARE