बर्दियाको ठाकुरबाबामा मात्रै ३२ महिलामा पाठेघर मुखको क्यान्सर आशंका

0
287

चैत्र ६,२०७७ बर्दिया: ठाकुरबाबा नगरपालिकामा परीक्षण गराएका ३२ जनामा पाठेघरको मुखको क्यान्सर आशंका गरिएको छ।

नगरपालिकाकी महिला बालबालिका शाखा प्रमुख रीता थारूका अनुसार शिविरमा वडा नम्बर १ देखि ९ सम्मका महिलाको स्वास्थ्य जाँच गरिएको थियो।नगरपालिकामा ९ दिनसम्म शिविर सञ्चालन भएको थियो। जहाँ झण्डै १६ सय महिलाले पाठेघर परीक्षण गराएका थिए।

ती ३२ जना महिलाको रिङ प्रेसरीबाट उपचार गरिएको र शंकास्पदलाई कोहलपुर रिफर गरिएको नगरपालिकाले जनाएको छ। थारूभन्दा बढी पहाडिया समुदायका महिलामा यस्तो समस्या देखिएको उपचार संलग्न चिकित्सकले जनाएका छन्।

यस्तै गएको वर्ष पनि नगरले सञ्चालन गरेको शिविरका क्रममा ३४ महिलामा पाठेघरको मुखको क्यान्सर आशंका गरिएको थियो। पछिल्लो समय महिलामा यस्तो समस्या बढ्न थालेपछि नगरले अहिले प्रत्येक वर्ष निःशुल्क शिविर सञ्चालन गर्दै आएको नगरप्रमुख घननारायण श्रेष्ठले बताए।

गाउँगाउँमा निःशुल्क शिविर सञ्चालन गर्दा आर्थिक अभावमा नेपालगञ्ज तथा काठमाडौं जान नसक्ने महिलाहरू लाभान्वित भएका प्रमुख श्रेष्ठले बताए।

पछिल्लो समय महिलामा पाठेघर खस्ने समस्या बढ्दै गइरहेकाले महिलाले हरेक तीन महिनामा यसको परीक्षण गर्नु राम्रो मानिने स्त्रीरोग विशेषज्ञहरूले बताएका छन्।

पाठेघरको मुखको क्यान्सरले महिलाको ज्यान लिने गरेको छ। सानै उमेरमा धेरै सन्तान जन्माउँदा र असुरक्षित यौन सम्पर्कले यो रोगको जोखिम बढिरहेको चिकित्सक बताउँछन्। बेलैमा उपचार गरे निको हुने यो समस्यालाई धेरै महिलाले लुकाउँदा जोखिम बढिरहेको विशेषज्ञहरूको तर्क छ।

गाउँ घरका अधिकांश महिला सिकिस्त नभएसम्म अस्पताल नपुग्ने भएकाले अन्तिम चरणमा पाठेघरको मुखको क्यान्सरको उपचार खर्चिलो बन्नुका साथै ज्यान बचाउनै गाह्रो हुने स्वास्थ्य शाखा प्रमुख इन्द्र राजवंशीले बताए।

क्यान्सर हुनुपूर्व नै पत्ता लगाउन सकिने भए पनि जनचेतनाको कमीका कारण पाठेघरको मुखको क्यान्सर पीडित महिलाको संख्या बढ्दो क्रममा रहेको क्यान्सर रोग विशेषज्ञको भनाइ छ।

SHARE