ओलीको निर्णय फिर्ता नभएसम्म खनाल – नेपाल समूहको संघर्ष चलिरने

0
362

चैत ०५
काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले ओलीको हुकुमी शैलीको अन्त्य नभएसम्म पार्टीभित्रको संघर्ष नरोकिने निष्कर्ष निकालेको छ।

दुई दिने कार्यकर्ता भेलाको बारेमा जानकारी दिनका लागि आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, ‘भेलाले १७ बुँदे प्रस्ताव पास गरेको छ। ९ औँ महाधिवेशनमा पार्टीका कार्यक्रम जनताको बहुदलीय जनवादको रक्षा गर्दै समाजवादतर्फ जाने कुरालाई भेलाले पुष्टि गरेको छ।’

भेलाले पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले सरकार सञ्चालनको क्रममा नीति तथा कार्यक्रमलाई समेट्न सकेको निष्कर्ष समेत निकालेको उनले बताए।

‘नवौं महाधिवेशनको कार्यदिशालाई बलियो ढंगले अगाडि बढ्नुपर्नेमा जोड दिइएको छ। अदालतको निर्णयपछि पार्टी पूर्ववत् अवस्थामा फर्किए पनि २०७५ जेठ २ गतेको संरचना अनुसार अगाडि बढ्छौँ’ उनले भने, ‘त्यो बाहेक कुनै निर्णय स्वीकार गर्दैनौँ।’

आगामी दुई(तीन महिनामा पार्टीभित्रको परिस्थितीको बारेमा तल्लो तहसम्म लानका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको समेत बताए। उनले पार्टीको पुनर्संरचनाको अभियान आजबाट सुरु भइसकेको तर्क गरे।

‘भेला पार्टी एकताको पक्षमा उभिएको छ। उहाँले पार्टीका नेताहरुसँग संवाद नै गर्दिन भन्नुभएको छ। तर, हामी अन्तिम सम्म पार्टी एकताको पक्षमा प्रयास गछौँ’ उनले भने।

ओलीको कदम सर्वोच्च अदालतको निर्णय विरुद्धको भएको उनले दाबी गरे। ‘उहाँले फागुन २८ मा एकलौटी गर्नुभएको छ। बाटोबाटै थपिएको केन्द्रीय कमिटीको बैठकमा जाँदैनौ’ उनले भने, ‘त्यो अवैधानिक छ।’

उनले ७ गतेको केन्द्रीय कमिटीलाई गुटको बैठक भएकाले कुनै हालतमा नजाने दाबी गरे। ‘ओलीको निर्णय फिर्ता नभएसम्म संघर्ष चलिरहन्छ। हाम्रो तर्फबाट पार्टी फुटको घोषणा हुँदैन’ उनले भने।

संसदीय दलको बैठकको निर्णयबारे आधिकारिक निर्णय आएपछि मात्रै हामीले टिप्पणी गर्ने उनले बताए। उनले ओलीले पार्टीभित्र कारवाही गर्नका लागि ढिलाई गरेको समेत टिप्पणी गरे। थाहाबाट

SHARE