गुल्मीमा शिक्षकद्धारा बिद्यार्थी कुटपीट ,मुटुमा समस्या देखिए पछि वुटवलमा थप उपचार हुँदै

0
504

फागुन २६,२०७७ गुल्मी : गुल्मीको इस्मा गाउँपालिका ४ दोहलीको रामराज्य माविका शिक्षकद्धारा बिद्यार्थी कुटिएका छन् ।
रामराज्य माविको कक्षा चारमा अध्ययन गर्ने ११ बर्षीय किस्मत तिमल्सेनालाई शिक्षक बलराम अर्यालले कुटपीट गरेका हुन् । अर्यालले फागुन २३ गते कक्षा कोठामै सवै बिद्यार्थीलाई कुटेका थिए । सोहि क्रममा किस्मत शिक्षकको कुटाइबाट बेहोस भए । उनलाई दोहली स्वास्थ्यचौकीमा सामान्य उपचार गरियो ।
मुटु दुख्ने र सास फेर्न गाह्रो हुने भएपछि गुल्मी अस्पताल तम्घासमा समेत उपचार गरिएको आमा कल्पना तिमल्सेनाले बताइन् । उनले समस्या झन बल्झेपछि बुधबार गौतमबुद्ध मुट अस्पताल बुटवल जाँदै गरेको जानकारी दिइन् ।
आफुले इस्मा प्रहरी, वडाअध्यक्ष र गाउँपालिकामा समेत बच्चाको अवस्थाको बारेमा जानकारी गराएकाले बच्चाको उपचार र कुटपीट गर्ने शिक्षकलाई तुरुन्तै कानुन अनुसार कारबाहीको माग तिमल्सेनाले गरिन् ।
अर्यालले बिद्यार्थी कुटपीट गरेको यो पहिलो घटना भने होइन् । उनले केहि बर्ष पहिले पनि बिद्यालय नजिकैका एक बिद्यार्थीलाई कुटपीट गरेर गम्भिर घाइते बनाएका थिए । केहि महिना पहिले उनकै छोरा बालकुष्ण अर्यालले पनि स्थानीय राम बहादुर विष्टकी छोरीलाई कुटपीट गरेका थिए ।
कोरोनाको समयमा गाउँपालिकाले टोल–टोलमा बिद्यार्थी भेला पारेर पढाउँथ्यो । बलराम आफु पढाउन नगएर छोरालाई पठाउथे । सोहि क्रममा छोराले बिद्यार्थी कुटेर हातमा चोट लाग्यो । तर, यो बिषयमा पनि बाहिर आएन् । बलरामको ज्यादती पटकपटक हुँदा बिद्यालय प्रशासन मौन रहेको किस्मतका हजुर बुबा मान प्रसाद तिमल्सेनाले गुनासो गरे ।
‘स्कुलमै धन्न नातीको ज्यान गएन , अहिले पनि उपचार भइरहेकाले केहि भन्ने अवस्था छैन,’तिमल्सेनाले भने,‘अब कसरी ढुक्क भएर छोराछोरी बिद्यालय पठाउने ।’ बिद्यार्थी कुटपीटका आरोपित अर्यालले बिद्यालय बाहेक समुदाय स्तरमा थुप्रैलाई दुव्र्यबहार गर्ने गरेको स्थानीयहरुले बताएका छन् ।
पुर्व बिद्यालय व्यावस्थापन समिति अध्यक्ष समेत रहेका नेपाली कांग्रेसका नेता चन्द्र बहादुर महतले अभिभावकले बिद्यालयमा शिक्षकले दोहो¥याएको ज्यादती सहन नहुने बताए । उनले आफ्नो नाति र किस्मतसहितका बालबालिकालाई कुटपीट गर्ने शिक्षकलाई तत्काल कारबाही नभए अभिभावले आन्दोलन गर्ने चेतावनी दिए ।
उनले किस्मतलाई मात्र नभएर बिद्यालयकै बालबालिकाको बाल मनोबिज्ञानमा असर पुग्ने काम गरेको बताए । कुटपिट गर्ने शिक्षक बलराम अर्यालले गल्ति भएको स्वीकार गरे । उनने विद्यार्थी सम्झाउने क्रममा आँफुले कुटपिट गरेकोले उपचारमा सहयोग र परिवारलाई सहानुभूति दिएको बताए ।
यता इश्मा गाउँपालिकाकी उपाध्यक्ष बिमला खत्रीले आँफूहरुलाई आधिकारीक रुपमा केही जानकारी नभएको बताइन् । बिद्यालयमा बालबच्चालाई कुटने अधिकार कसैलाई नभएको भन्दै शिक्षकलाई कानुन अनुसारको कारवाहीका लागि आँफूले पहल गर्ने बताइन् ।
यस्तै जिल्ला प्रहरी कार्यालयमा पनि लिखीत रुपमा केही जानकारी नभएको प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

SHARE