रामपुरमा दुई सय ज्येष्ठ विपन्न नागरिकलाई न्यानो कपडा वितरण

0
496

सुशीला रेग्मी

फागुन १८,२०७७ पाल्पा: पाल्पाको रामपुर नगरपालिका भित्रका दुई सय बृद्ध असहाय तथा विपन्न नागरिकलाई जाडोको न्यानो कपडा वितरण गरिएको छ । लुम्बिनी प्रदेश सररकारद्धारा संचालित मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत रामपुर नगरपालिकाले ६० वर्ष भन्दा माथिका बृद्ध असहाय तथा विपन्न नागरिकलाई न्यानो कपडा ब्ल्याङ्केट नगरका दशवटै वडामा पुगेर वितरण गरेको छ ।

मंगलवार रामपुर नगरपालिका वडा नं ५ मा वडा अध्यक्ष हिमाल मल्लको अध्यक्षतामा कार्यक्रम गरी न्यानो कपडा वितरण गरिएको छ । ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्दै लुम्बिनी प्रदेश सभा सदस्य युवराज खनालले लुम्बिनी प्रदेश सरकारले रामपुर नगरपालिकामा यस आर्थिक वर्षका लागि लुम्बिनी प्रदेश सरकारमार्फत मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत ७० लाख वजेट उपलब्ध गराएको बताउदै ज्येष्ठ नागरिक सम्मान लगायत विभिन्न कार्यक्रम गर्ने योजनाअनुसार अघि बढेको बताए ।

नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले ज्येष्ठ नागरिकमध्ये पनि नगरपालिकाले दशवटै वडामा रहेका विपन्न सदस्य छनौट गरी सम्मान कार्यक्रम गरेको बताइन् । कार्यक्रमको संचालन वडा सचिव महेशप्रसाद भट्टराईले गरे । वडा नं ५ को कार्यालयमा भएको कार्यक्रममा सहभागीलाई मेलमिलापकर्ता अर्जुन रेग्मीले धन्यवाद दिए भने स्वागत वडा सदस्य माया नेपालीले गरिन् । कार्यक्रम सम्बन्धमा मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार समिति सदस्य बन्दना पोखरेलले जानकारी गराएकी हुन् ।

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्र्तगत एक वडामा २० जना गरी दशवटै वडामा गरी रामपुर नगरभित्रका दुई सय ज्येष्ठ विपन्न नागरिकलाई जाडोको न्यानो कपडा ब्ल्याङ्केट वितरण गरिएको सहजकर्ता सम्झना पछाईले जानकारी दिइन्।

यसैगरी मंगलवार नै रामपुर नगरपालिका वडा नं ४, ६ र ७ मा पनि न्यानो कपडा वितरण कार्यक्रम भएको छ । यसभन्दा अगाडी नगरका वडा नं १, २, ३, ८, ९ र १० मा जाडोको न्यानो कपडा वितरण गर्ने कार्यक्रम सम्पन्न भएको रामपुर नगरपालिकाका फोकल पर्सन गंगा खनालले जानकारी दिइन् ।

SHARE