
सुशीला रेग्मी
फागुन १६,२०७७ पाल्पा : पाल्पाको रामपुर अस्पतालमा शल्यक्रिया सेवा शुभारम्भ गरिएको छ ।
आइतवार लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले सो सेवाको उद्घाटन गरे । शल्यक्रिया सेवाको उद्घाटन गर्दै मन्त्री बरालले दुर्गम ठाउँमा स्वास्थ्यकर्मी नटिक्ने र पठाउन समस्या भएकाले अस्पताल भएर पनि नागरिकले सास्ती भोग्नु परेको बताए ।
उनले दुर्गममा स्वास्थ्यकर्मी पठाउने कुरा चुनौतीपूर्ण रहेकाले उनीहरुलाई नियमित बसेर सेवा दिने वातावरण अस्पताल र समुदायले व्यवस्थापन गर्नुपर्ने बताए । कर्मचारी उत्प्रेरित नभएसम्म पूर्वाधार र उपकरण प्रयाप्त भएपनि नागरिकलाई प्रभावकारी सेवा दिन नसकिने बताउँदै स्वास्थ्यकर्मी टिकाई राख्ने वातावरण अस्पताल, समुदाय र स्थानीय सरकारले पहल गर्नुपर्ने बताए । अस्पतालको गुरुयोजना बनाएर काम गरेमा सेवा प्रवाह प्रभावकारी हुने मन्त्री बरालको भनाई छ ।
कार्यक्रममा प्रदेश सभा सदस्य युवराज खनालले रामपुर अस्पतालमा निर्माणधिन नयाँ अस्पताल भवन चाडो सम्पन्न गर्न सकेमा सेवा क्षेत्र फराकिलो बताउन सकिने बताए । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले रामपुर अस्पतालको सेवा र विकासमा नगरपालिकाले सदैव सहकार्यका साथ काम गरिरहेको बताउँदै ब्लड बैंक स्थापना गर्न मन्त्री बराल समक्ष अनुरोध गरे ।
विसं २०५२ सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भएको यस अस्पतालमा झण्डै २५ वर्षपछि मात्रै शल्यक्रिया सेवा थालनी भएको छ । गर्भपति महिला, हर्निया, हाइड्रोसिल, एपेन्डिसाइटिस, गाठागुठीको चिरफार लगायतको सेवा दिने निमिक्त मेडिकल सुपरिटेण्डेन डाक्टर विजय परियारले जानकारी दिए । निक साइमन्स इन्स्च्यिुट ललितपुरको सहयोगमा शल्यक्रिया सेवा थालनी गरिएको हो ।
पाल्पा सदरमुकाम तानसेन देखि करिव ६५ किलोमिटर पूर्वी रामपुरमा रहेको यस अस्पतालमा लामो समयपछि शल्यक्रिया सेवा शुभारम्भ भएपछि स्थानीय खुशी छन् । सामान्य शल्यक्रियाका लागि पनि सदरमुकाम तानसेन लगायतका विभिन्न शहरमा धाउन बाध्य यहाँका नागरिक अहिले गाउँमै सो सेवा पाउने भएपछि अन्यत्र जाने बाध्यताबाट मुक्त हुने भएका छन् । यहाँ पचास शैयाको भवन पनि निर्माणाधिन अवस्थामा छ । सो भवन सम्पन्न भएपछि बिशेषज्ञ सेवा नगारिकले पाउनेछन् ।
अस्पताल विकास समितिका अध्यक्ष बासुदेव भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत निमिक्त मेडिकल सुपरिटेण्डेन डाक्टर विजय परियारले गरे भने संचालन प्रशासन सहायक हिरा विकले गरे । कार्यक्रममा निक साइमन्स इन्स्च्यिुटका कार्यकारी निर्देशक अनिलबहादुर श्रेष्ठ, लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका डाक्टर विनोद गिरी, निक साइमन्स इन्स्च्यिुटका बरिष्ठ कार्यक्रम प्रबन्धक काशीम शाह, पूर्व अस्पताल विकास समितिका उपाध्यक्ष फणेश्वर गौतम लगायतले आफ्ना भनाई राखे ।








