फागुन ९,२०७७ गुल्मी : खचाखच भरिएका पार्टी प्यालेसको हल । प्रतिगमनको विरुद्धमा व्यानर र झण्डा समाएका युवा विद्यार्थी । शनिबार गुल्मी सदरमुकाम तम्घासस्थित इन्द्रेणी पार्टी प्यालेसको हल युवा र विद्यार्थीहरुले भरिएको थियो ।
वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गत पौष ५ गते प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा जिल्लाका युवा तथा विद्यार्थी विरोधमा सदरमुकाम आएका हुन् । कार्यक्रममा नेकपा प्रचण्ड–नेपाल पक्षका स्थायी कमिटी सदस्य गोकर्ण विष्ट, लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बराल, विद्यार्थी नेता सुदेश पराजुली, राष्ट्रिय युवा संघ, गुल्मीका इन्चार्ज हिमाल थापा लगायतका नेताहरु मञ्चमा आशिन थिए ।
मञ्चमाबाट बोल्ने अतिथि तथा उपस्थित सहभागि सबैले प्रधानमन्त्रीको कदम गलत भएको भन्दै आफुहरु अग्रगमनको पक्षमा उभिएको दाबी गरे । अहिले प्रतिबन्धमा रहेको नेकपा विप्लप समुहका केही विद्यार्थीहरु समेत नेकपा प्रचण्ड–नेपाल पक्षको अनेरास्ववियूमा प्रवेश गरे । यसले कार्यक्रम थप रोचक र उत्साहपूर्ण भयो । कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि गोकर्ण विष्टले प्रधानमन्त्री केपी ओलीले संघियता विरोधी काम गरेको आरोप लगाए ।
हुँदाहुँदैको संसद विघटन गरेर फेरी चुनाव गराउने कुरा संविधान एवम् जनभावनाविपरित हुने उनको बुझाई छ । जनताले कम्युनिष्ट पार्टीलाई विश्वास गरेर गत निर्वाचनमा दुई तिहाई मत दिएपनि केही खराब मानिसहरुले त्यसको दुरुपयोग गरेको आरोप लगाए ।
सामाजिक विकास मन्त्री बरालले आफुहरु निरन्तर देश र जनताको पक्षमा काम गर्ने बताए । उनले जनमत कुल्चेका वर्तमान प्रधानमन्त्रीलाई राजनीति छोडेर अब पुजापाठतिर लाग्न सुझाए ।
विद्यार्थी नेता सुदेश पराजुलीले संविधानको रक्षाका लागि फेरी एकपटक युवा तथा विद्यार्थीहरुले सङ्घर्ष गर्नुपर्ने बेला आएको बताए । इतिहासमा जहिल्लै पनि विद्यार्थीहरुको आन्दोलन सफल भएको भन्दै पराजुलीले यो आन्दोलन पनि सफल हुने विश्वास व्यक्त गरे । राष्ट्रिय युवा संघ गुल्मीका इन्चार्ज हिमाल थापाले अबको केही दिनमै केपी ओली बालुवाटारबाट निस्केर सडकमा आउने बताए । यो युवाहरुको अन्तिम सङ्घर्ष भएकोले लडाई आफुहरुले जितिसकेको तर घोषणा हुनमात्र बाँकी रहेको बताए ।
कार्यक्रममा सहभागिहरुले पनि वर्तमान प्रधानमन्त्रीकोे गलत कदमका विरुद्ध खरो रुपमा उत्रिने प्रतिक्रिया दिए । कार्यक्रममा सहभागि धुर्कोट गाउँपालिका जैसिथोकका अजय पोखरेलले आफुहरुको संविधानको रक्षार्थ नेकपाको संस्थापन पक्षमा आवद्ध हुने बताए । छत्रकोट गाउँपालिकाबाट कार्यक्रममा सहभागि अनिल सुनारले प्रधानमन्त्रीले संसद विघटन गरेर आम युवा तथा विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गरेको प्रतिक्रिया दिए । सत्ता र शक्तिको आडमा रुमल्लिएका प्रधानमन्त्रीको गलत कदमको विरुद्ध गाउँका सबैजसो युवा तथा विद्यार्थीहरु सदरमुकाम आएको उनको भनाई छ ।