मृत अवस्थामा फेला परेकी खत्रीको शव ५ दिनपछि आफन्तले बुझे

0
340

फागुन ०८, २०७७ गुल्मी
झुण्डिएको अवस्थामा मृत फेला गुल्मीको रेसुङ्गा नगरपालिका–३ की ५२ वर्षीय तोमकला खत्रीको शव ५ दिनपछि आफन्तले बुझेका छन्।

फागुन २ गते घर देखि ८० मिटरको दुरीमा तोमकला झुण्डीएको अवस्थामा मृत फेला परेकी थिइन।

मृत फेला परेकी तोमकलाको हत्या भएको हुनसक्ने भन्दै आफन्तले शवको पोष्ट मार्टम गर्न समेत दिएका थिए । आफन्तले गम्भीर ढंगले अनुसन्धान हुनुपर्ने माग राखेका थिए।

आत्मा हत्या नभइ अन्य कुनै कारण हुनसक्छ भन्ने स्थानीयको माग छ । शुक्रवार प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको नेतृत्वमा भएको राजनितिक दल,सरोकार वालाहरुसँगको छलफलले मृत फेला परेकी खत्रीको शबको पोस्मार्टम गर्ने, अनुसन्धानलाई फराकिलो बनाएर लैजाने सहमती पश्चात शब आफन्तले बुझेका हुन् ।

जिल्लामा घटिरहेका घटनाहरुमा तिब्र अनुसन्धान गर्ने र दोषीलाई कारवाही गर्ने पिडितलाई न्याय दिने सहमती भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनु भयो । सहमती पश्चात आन्दोलन स्थकीत भएको छ ।

प्रहरीले अनुसन्धानलाई गम्भीर ढंगले नगरेको भन्दै बिहीबार आन्दोलनकारी प्रशासनको गेट र सुरक्षा घेरा तोडेर प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको कार्यकक्षमा नारा–जुलससहित पुगेका थिए ।

भाडगाउँकी २२ वर्षीय सम्झना बोहोरा खत्री यहि माघ २९ गते देखि वेपत्ता छिन् । वेपत्ताको खोजीका लागि भन्दै सम्झनाको परिवारले माघ ३० गते प्रहरीमा निवेदन दिए पनि सम्झनाको माइती पक्षले श्रीमान र सासूसँग पहिलेदेखि बेमेल रहेको आरोपसहित प्रहरीमा निवेदन दिएको थियो । सोही घटनाको अनुसन्धानका लागि प्रहरीले सम्झनाका श्रीमान नेत्रबहादुर खत्रीलाई हिरासतमा राखेको छ भने सासु तोमकला खत्रीलाई सोधपुछ गरी घर पठाएको थियो । तर फागुन २ गते तोमकला झुण्डिएको अवस्थामा मृत फेला परिन । त्यसअघि तोमकलाले २९ गते राति घरमा सासू, बुहारी र सानो बच्चा मात्र भएको अवस्थामा तीन जना अपरिचित व्यक्ति घरमा प्रवेश गरेको बताएको स्थानीय पूर्ण केसीले बताए ।

अहिले सासूको मृत्यु भइसकेको र बुहारी बेपत्ता भएको भन्दै घरपरिवार र सम्झनाका माइती पक्षले दुवै घटनाको न्यायिक छानविनका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । तर प्रहरीले यस बिषयमा छानविनमा ढिलासुस्ती गरेको भन्दै जनप्रतिनिधि, महिला अधिकारकर्मी र दुवै परिवारका सदस्यहरुले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए ।

रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालको नेतृत्वमा घटनाको सत्यतथ्य छानविनको माग गर्दै रेसुङ्गा नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि, महिला अधिकारीकर्मी, दुवै परिवारका सदस्यले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए ।

जिल्लामा यस आर्थिक वर्षको भदौदेखि एक पछि अर्को गर्दै अपराधका जघन्य घटना भइरहेका छन् । जिल्लामा गत भदौ २१ गते इस्मा गाउँपालिका– १ का मोतीबहादुर कुँवरको आफ्नै पसलमा बीभत्स हत्या भयो । हत्या भएको करिब ६ महिना पुग्न लाग्दा पनि प्ररीले हत्यारा पत्ता लाग्न सकेको छैन् ।

एक महिना अघि जिल्लाको रेसुङ्गा नगरपालिका– १४ पराल्मीका ४५ वर्षीय तुलबहादुर विकको हत्या भएको प्रहरीले नै अनुमान गरेका थियो तर अहिलेसम्म हत्यारा पत्ता लगाउन प्रहरी सफल भएको छैन् । जिल्ला सदरमुकामै केहि समय अघि बिरामी सञ्चो बनाउने नाममा धामीले डामेर इस्मा गाउँपालिका– ३ दर्लामचौरका ६४ वर्षीय रामबहादुर मुखियाको मृत्यु भयो ।

सदरमुकाममै घटेको यस्तो घटनाले प्रहरी प्रशानलाई चुनौति दियो । जिल्लामा घटेका घटनाहरु यि प्रतिनिधी मुलक घटनामा प्रहरीले सफल अनुसन्धान गर्न नसक्दा स्थानीय नागरिक असुरक्षित महशुस गरेका छन्।

यसले गर्दा जिल्लामा नागरिकहरु प्रहरी र प्रशासन समक्ष शान्ति सुरक्षाको माग गरिरहेका छन्।

SHARE