बन्जीजम्प पुग्नको लागि अटो रिक्साको सुविधा

0
346

फागुन ७, २०७७
पर्वत : बन्जीजम्प तथा नेपालकै अग्ला र लामा झोलुङ्गे पुलहरूका कारण पर्यटकहरूको चापलाई ध्यानमा राखेर पर्वत सदरमुकाम कुस्मा बजारमा अटो रिक्साको सुविधा थप्न लागिएको छ।

बजारमा नगर बस सञ्चालनमा नरहेको अवस्थामा निजी साधन लिएर नआएका आन्तरिक तथा बाह्य पर्यटकहरूलाई फरक(फरक गन्तव्यमा पुग्न समस्या भएपछि अटो रिक्साबाट सेवा दिन थालिएको कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले बताए।

कुस्मामा रहेका पर्यटकीयस्थलहरू छिरलिएका ठाउँमा रहेका कारण टाढाबाट आएका पर्यटकहरु अलमलमा पर्ने, बजारभित्र ठूला बसहरू छिराउँदा समस्या हुने र कतिपय ठाउँमा बस नजाने भएका कारण ती समस्याको समाधानको लागि अटो रिक्सा सञ्चलन गर्न लागिएको उनको भनाइ छ।

‘हाम्रो बन्जी एक ठाउँमा छ, पुलहरू अर्कातिर छन्, गुप्तेश्वर गुफा अर्कैतिर छ। कतिपय आन्तरिक पर्यटकहरूलाई ती ठाउँको रुट थाहा भए पनि अन्य जिल्लाबाट आउने तथा बाह्य पर्यटकहरूलाई रुट चिन्न पनि समस्या छ।’

नगरप्रमुख जोशीले भने, ‘त्यसमा पनि बजारमा ठुला गाडी छिराउँदा ट्राफिक जाम लगायतका समस्या देखिने गरेको छ। निजी सवारी नभएकाहरूलाई पर्यटकीय गन्तव्य पुग्न सहज होस् भन्ने हिसाबले यो काम गर्न लागिएको हो।’

कुस्मा नगरपालिकाअन्तर्गतको पर्यटन समितिका सदस्य तथा अटो रिक्सा सञ्चालन तथा व्यवस्थापन तर्फका संयोजक शिव शर्मा पौडेलले कुस्मा बजारमा पर्यटकहरूको आगमन बढ्दै गएकाले कुस्मा–ज्ञादी जोड्ने गरी बनेको मोदी खोलामाथिको झोलुङ्गे पुल, कुस्मा–मुडिकुवा जोड्ने झोलुङ्गे पुल, कुस्मा–खरेहा जोड्ने मोदीमा नै बनेको झोलुङ्गे पुल, कुस्मा–बलेवा जोड्ने गरी काली गण्डकी नदीमाथि बनेको झोलुङ्गे पुल, गुप्तेश्वर गुफा, बन्जी जम्प, बन्दै गरेको सुपर म्यान शैलीको जीपलाईन लगायतका ठाउँमा जाने गरी अटो रिक्सा चलाइने जानकारी दिए।

‘लकडाउनको बेलामा समेत बन्जीले पर्यटक तानेको थियो। बन्जीमा आएका पर्यटकहरु अन्य ठाउँमा जाँदा नै समस्या भयो। कोरोना अवस्था सामान्य रहँदा पर्यटकहरूको सङ्ख्या झनै बढिरहेको छ।’ उनले भने, ‘बजारलाई पर्यटनमैत्री बनाउनको लागि पनि यो कामको महसुस भएको थियो। पर्यटकहरूलाई घुम्न मात्रै नभई गाउँबाट विभिन्न कामले बजारमा आएकाहरूलाई फरक फरक कार्यालय वा ठाउँमा जानको लागि सुविधा पाउँदै छन्।’

पर्वत पर्यटन प्रवर्द्धन केन्द्रका संस्थापक अध्यक्ष समेत रहेका पौडेलले अब बाहिरबाट आउने ठुला बसहरूलाई बजारको मुखैमा रहेको बान्द्रेबिँडी बसपार्कमा राखेर पर्यटकहरूलाई त्यहीँ झारिने छ। बसपार्कबाट पर्यटकीय गन्तब्यहरुसम्म जानको लागि तयारी अवस्थामा रहेका अटो रिक्साले सेवा दिने भएपछि यसले उद्योग तथा व्यापारको समेत प्रवर्द्धन हुने उनको भनाई छ।

‘ठूला बस बजार हुँदै सिधै गन्तव्यमा पुगेर सिधै फर्किने गर्थे। पर्यटकहरूले राम्रोसँग बजार समेत देख्न पाउँदैनथे।’ उनी भन्छन्, ‘अब रिक्सामा बसेर बजार बजार डुल्दा यहाँका उत्पादन तथा विभिन्न बस्तुहरू किनेर चिनेको रूपमा लैजान पाउनेछन्।’

अटो रिक्सा सञ्चालन भएपछि गन्तव्यमा पुग्ने रुट थाहा नपाएर अलमलमा परेका तथा आफ्नो सवारी नहुँदा पैदल यात्रा गरेर ती ठाउँमा पुग्न कष्ट भोग्दै आएका पर्यटकहरूलाई सहज हुनेछ।

घरेलु तथा साना उद्योग कार्यालयसँगको सहकार्यमा अहिले अटो रिक्साको चालक बन्न चाहनेहरुलाई तालिम दिने काम भइरहेको छ। अटो रिक्सा सञ्चालनमा आएपछि कम्तीमा पनि २५ जनाले प्रत्यक्ष रोजगारी पाउने लक्ष्य राखिएको छ। चालकहरूलाई अहिले एक महिने तालिम चलिरहेको र उनीहरूले सवारी चालक अनुमति पत्र प्राप्त गरेपछि सुरुमा बढीमा २५ ओटा सम्म अटो रिक्सा सञ्चालन गर्ने तयारी रहेको नगरपालिकाले बताएको छ।

बेरोजगार भएर बसेका युवाहरूको लागि पनि यो योजना उपयोगी हुने कुस्मा नगरपालिकाले बताएको छ। चालक आफैँले चाहेमा अटो रिक्सामा लगानी गर्न सक्ने, यदि नसकेमा लगानी कर्ता खोजेर बैङ्कमा न्यूनतम ब्याजमा कर्जाको व्यवस्थापन गरेर पनि बेरोजगारी समस्याको हल गर्न आफूहरूले प्रयास गर्ने नगरप्रमुख जोशी बताउँछन्। थाहाबाट

SHARE