गुल्मीमा जिप दुर्घटना : ३ जनाको मृत्यु , ६ जना घाइते

0
26

फागुन ५,२०७७ गुल्मी : गुल्मीमा बुधबार साँझ जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै र २ जनाको जिल्ला अस्पताल गुल्मीमा उपचारको क्रममा मृत्यु भएको छ ।
सदरमुकाम तम्घासदेखि रेसुङगा नगरपालिका १४को पराल्मी जाँदै गरेको लु १ ज १९८८ नम्बरको जिप रातामाटमा दुर्घटना हुँदा रेसुङगा नगरपालिका वडा नम्बर १४ का ४७ बर्षका एकराज पोखरेलको घटनास्थलमै मृत्यु भएको र सोही वडाकी २८ बर्षकी शान्ती नेपाली र २७ बर्षकी गोमा नेपालीको उपचारको क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रबिणलाल श्रेष्ठले जानकारी दिए ।
दुर्घटनामा परि जिपमा सवार सोही वडाका ३७ बर्षका बीरबहादुर सुर्यबंशी , २२ बर्षका चालक भरत पोखरेल ,३७ बर्षकी गोमा तामद (नेपाली) , ६६ बर्षका देबबहादुर नेपाली, २७ बर्षका प्रकाश नेपाली र उनकी ४ बर्षकी छोरी खुसी नेपाली घाइते छन् ।
घाइते मध्ये बीरबहादुर सुर्यबंशीको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सुर्यबंशी र चालक भरत पोखरेललाई थप उपचारका लागि पाल्पा रिफर गरिएको छ । अन्य घाइतेहरुको जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहेको छ । जिप सडक देखि करिब ६ सय मिटर तल खसेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

SHARE