तिलाचन पाण्डे
माघ २८,२०७७ गुल्मी : गुल्मीको रेसुंगा नगरपालिकाले पानीको समस्या भएको स्थानहरुमा पानी राख्ने प्लाष्टिक ट्याङकी अनुदानमा बितरण गरेको छ ।
नगरपालिकाको बार्षिक नीति तथा कार्यक्रम अन्र्तगत स्वास्थ्य , आयआर्जन र सशक्तिकरण लागि वडा नम्बर १० सिमीचौरमा पाँच सय लिटरका प्लाष्टिक ट्याङकी २१६ जनालाई बितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिए ।
नगरपालिकाको महिला ,दलित कृषि पशुबिकास र सशक्तिकरणको कुल ६ लाख बजेटबाट ट्याङकी बितरण गरिएको हो । पानी संकलन गरी तरकारी खेती गरी आयआर्जनमा बृद्धि हुने ,स्वास्थ रहन पनि पानी अपरिहार्य हुने भएकाले प्लाष्टिक ट्याङकी बितरण गरिएको नगरपालिकाले जनाएको छ । ट्याङकीको सही सदुपयोग नगरि कहि कतै दुरुपयोग भएको पाइएमा कारवाही गरेरै छाड्ने मरासिनीले बताए ।
जे काम र उद्येश्यका लागि बितरण गरिएको हो त्यसलाई सही सदुपयोग गर्न ,आयआर्जनमा बृद्धि गर्न समेत उनले आग्रह गरे । नगरपालिकाले नगरभित्रका स्थानीयहरुको आयआर्जनमा बृद्धि गर्न र कृषकले उत्पादन गरेका कृषि उपजलाई बजारको ग्यारेन्टी गरेको भन्दै उत्पादनमा जोड दिन समेत आग्रह गरे ।
ट्याङकी बितरण गर्दै नगरपालिकाकी उपप्रमुख सीता भण्डारीले यसको सही सदुपयोग गरी आयआर्जनमा बृद्धि गर्न जोड दिइन् । पानीको समस्यालाई समाधान गर्नका लागि पनि केही हदसम्म यसले सहयोग गर्ने बताउँदै नगरपालिकाले सबैको घरमा स्वच्छ पिउँने पानीको ब्यबस्थापन गर्दै जाने र नगरपालिकाले एक घर एक धारालाई प्राथमिकतामा राखेको बताइन् ।
वडा अध्यक्ष पदमप्रसाद अर्यालले वडाबासीहरुको समस्या संग आँफू जानकार भएको बताए । खानेपानी लगायतका समस्याहरु समाधान गर्नका लागि आँफू तत्पर रहेको बताउँदै केही बर्ष भित्रमानै एक घर एक धाराले सार्थकता पाउँने उनको दाबी छ । ट्याङकी पाइसकेपछि स्थानीयहरुमा खुसी छाएको छ ।