वामीमा हाटबजार सञ्चालनमा , कृषि सामाग्रीको बजारको ग्यारेन्टी , कृषक उत्साहित

0
710

सागर भण्डारी
माघ २५,२०७७ गुल्मी : मुसिकोट नगरपालिका वडा नं ७ वामी टारका व्यवसायिक कृषक कृष्ण प्रसाद काफ्लेलाई निकै खुसी लागेको छ । शनिवार वामीमा सञ्चालित कृषि हाटबजारमा आफुले उत्पादन गरेका कृषि सामाग्रीहरु विक्रीका लागि पुगेका उनको तरकारी एकै छिनमा विक्री भयो ।

हाटबजार सञ्चालनमा आउँदा आफुजस्ता कृषकको आत्मबल बढाएपनि विक्रीको सुनिश्चितता हुनुपर्ने उनले बताए। उत्पादनमा नगरपालिकाले प्रोत्साहन गर्दै आएपनि आजसम्म बजारको ग्यारेण्टी नहुँदा समस्यामा रहेका कृषकहरु निराश बनेका थिए ।

आफुले उत्पादन गरेका कृषि उपजहरु अब नियमित रुपमा हाटबजारमा विक्री वितरण गर्न पाउने भएपछि काफ्ले जस्तै कृषक सुमित्रा सापकोटालाई पनि खुसी लागेको छ । अब बजार पाईएन भनेर निरुत्साहित हुने अवस्थाको अन्त्य भएको भन्दै अझै उत्पादन बढाउन आत्मबल बढेको बताइन् ।

मुसिकोट नगरपालिका ७ वामीटक्सार बजारमा शनिवारदेखि हाटबजार सञ्चालनमा आएपछि कृषकहरु खुसी भएका हुन् । अब देखि प्रत्येक शनिवार हाटबजार सञ्चालनमा आउने भएको छ । मुसिकोट नगरपालिका र गुल्मी मुसिकोट उद्योग वाणिज्य सघंको सहकार्यमा हाटबजार व्यवस्थापन समितिेले प्रत्येक शनिवार अब नियमित रुपमा हाटबजार सञ्चालन गर्ने भएको छ । पहिलो दिन विभिन्न कृषि उपजहरुको विक्री वितरण गरिएको छ ।

३ वर्ष अगाडी पनि सञ्चालनमा रहेर बन्द भएको हाटबजारको दिर्घकालिन व्यवस्थापनका लागि नगरपालिकाले पनि पहलकदमी चालेको छ । हालै २७ लाख लागतमा निर्माण भएको हाटबजार स्थलमा कृषि हाटबजार सञ्चालनसगें कृषि उपजहरुको विक्री सुनिश्चितताका लागि कोल्ड स्टोर सहितको तरकारी पसल समेत सञ्चालनमा ल्याइने भएको छ ।

हाटबजारमा विक्री भएका सामाग्रीहरु सोही विक्री हुने र बाँकी रहेका सामाग्रीहरु फेरी कृषकले नै फर्काएर लैजाने स्थिति नल्याउन जीपपार्कमै तरकारी तथा फलफुल पसल नगरपालिकाको सहकार्यमा सञ्चालनमा आउने भएको हो ।
मुसिकोट नगरपालिकाका कृषि शाखा प्रमुख जनक पौडेलले हाटबजारको निरन्तरता र कृषकहरुले हाटबजारमा ल्याएका सामाग्रीहरुको विक्री सुनिश्चितताका लागि तरकारी पसल सञ्चालन गर्न लागिएको बताए । त्यस्तै उनले हाटबजारमा उपस्थित कृषकलाई उत्पादनमा आधारित अनुदान समेत दिइने बताए ।

हाटबजार व्यवस्थापन समितिका गोपिकृष्ण खरेलले कृषकले उत्पादन गरेका कृषि उपजहरुसकंलनका लागि नगरपालिका कृषकको घरघरमै पुगेर कृषि उपजहरु सकंलन गर्ने र ती सामाग्रीहरु हाटबजारमा ल्याएर विक्री वितरण गरिने बताए । साथै उनले बजारको पूर्ण ग्यारेन्टी रहेको भन्दै कृषकहरुलाई उत्साहित भएर कृषि पेशामा लाग्न आग्रह गरे ।

हाटबजारमा प्रत्येक हप्ता हाटबजार व्यवस्थापन समितिले कृषकहरुसगं छलफल गरी समर्थन मुल्य कायम गर्ने र सोही मुल्यमै तरकारी पसललाई पनि कृषकहरुले सामाग्री विक्री वितरण गर्ने सक्नेछन् । हाटबजारमा स्थानीय स्तरमा उत्पादित तरकारीजन्य सामाग्री, मसलाजन्य उत्पादन, पशुजन्य उत्पादन, दैनिक उपभोग्य सामान लगायत फेन्सी र कस्मेटिकका सामान समेत विक्री वितरण गर्न सकिने बताईएको छ ।

SHARE