रामपुर नगरपालिकाको नागरिक मैत्री सेवा, वडामै पुगेर अपाङ्गता र ज्येष्ठ नागरिकलाई सेवा

0
379

सुशीला रेग्मी
माघ २२,२०७७ पाल्पा : रामपुर नगरपालिकाले शारीरिक तथा मानसिक रुपमा अशक्त, ज्येष्ठ नागरिकलाई वडामै पुगेर सेवा दिन थालेको छ ।
नगरपालिकाको केन्द्र देखि टाढा रहेका, विकट र दुर्गम वडाहरुमा पुगेर अपाङ्गता भएका नागरिक र ज्येष्ठ नागरिकलाई परिचय पत्र वितरण कार्यक्रम सुरु भएको छ । साथमा आँखा जाँच तथा उपचार सेवा समेत दिइएको छ ।
बिहीवार रामपुर नगरपालिका वडा नं १ र २ का नागरिकलाई लक्षित वडा नं १ को कार्यालयमा शिविर आयोजना गरी सेवा दिइएको छ । शिविरमा अपाङ्गता भएका १५ जना नागरिक र ३६ ज्येष्ठ नागरिकलाई परिचय पत्र प्रदान गरिएको रामपुर नगरपालिकाका महिला विकास सहायक निरीक्षक पुजा परियारले जानकारी दिइन् ।
कालीगण्डकी आँखा उपचार केन्द्रको प्राबिधिक सहयोगमा एक सय २१ जनाले शिविरमार्फत आँखा जाँच सेवा लिएका छन् । केन्द्रका प्रमुख सुन्दर राना सहितको टोलीले आँखा जाँच सेवा दिएका हुन् । आँखा जाँचका क्रममा छ जनामा मोतियाबिन्दुको अप्रेशन गर्नुपर्ने भएको प्रमुख रानाले बताए ।
रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले शिविर उद्घाटन पश्चात सेवा दिइएको हो । नगरपालिका कार्यालयमा पुगेर सेवा लिन नसक्ने र नगरपालिकाको विकट क्षेत्र रहेका नागरिकलाई वडामा नै पुगेर शिविर संचालन गरी सेवा दिइएको नगर उपप्रमुख आचार्य बताउछिन् ।

रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यले ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिकलाई नगरपालिका कार्यालयमा नै सेवा लिन आउन जान समस्या परेकाले वडा वडाबाट शिविर सुरु गरेको र शिविरमा पुगेर सेवा लिन नसक्ने नागरिकलाई घरमै पुगेर सेवा दिने बताए ।
गाउँघरमा नै नगरपालिकाले शिविर आयोजना गरी सेवा दिएपछि सजिलो परेको रामपुर नगरपालिका वडा नं २ का सेवाग्राही अस्मिता थापा बताउछिन् । वडा कार्यालयबाटै आँखा जाँच गर्ने सुबिधा पाउँदा रामपुर १ का सेवाग्राही भिमबहादुर सेन खुशी छन् ।
“आँखाको समस्याले पिरोलिरहन्थ्यो, उपचार गर्न आउन जान गाडीको समस्या, भनेको बेला गाडी नपाइने, समयमा नै अस्पताल जान नसक्दा रोगसंग लडेर बसेका बेला नगरपालिकाले वडामा नै आएर सेवा दिएकोमा हामी खुशी छौँ” उनले भने ।
वडा कार्यालय प्राङ्गणमा भएको कार्यक्रममा सहभागीलाई अपाङ्ग समन्वय समिति सदस्य मिठ्ठु सुनारले स्वागत गरेको कार्यक्रम संचालन महिला तथा बालबालिका शाखाका सहायक महिला विकास निरीक्षक पुजा परियारले गरेकी थिइन् ।
वडा वडामा पुगेर सेवा दिने र छुटफुट भएका नागरिकलाई नगरपालिका कार्यालयबाटै परिचय पत्र वितरण गर्ने रामपुर नगरपालिकाका प्रवक्ता तथा वडा नं ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिए ।

SHARE