मुसिकोट नगरपालिकाको आठौँ नगरसभाबाट झण्डै दूई करोण रकमान्तरण

0
404

सागर भण्डारी
माघ २२,२०७७ गुल्मी :मुसिकोट नगरपालिकाको आठौँ नगर सभा बुधवार सम्पन्न भएको छ । गत असारमा वार्षिक नीति, कार्यक्रम तथा बजेट पारित गरेको मुसिकोट नगरपालिकाले केही योजनाहरू हिउँदे एवम् आठौँ नगर सभावाट संशोधन गरेको छ ।

बुधवार मुसिकोट नगरपालिका वडा नं ५ को आँपचौर प्राविधिक शिक्षालयको सभाहलमा सम्पन्न हिउँदे नगरसभामा विभिन्न शिर्षकबाट रकमान्तर गरी केही अत्यावश्यक तथा छुट हुन गएका योजनाहरूमा बजेट विनियोजन गरिएको नगर प्रमुख सोमनाथ सापकोटाले बताए ।

उनले समग्र नगर विकासको लागी टुक्रे बजेट विनियोजन गर्ने खाले योजनाहरू अघि नसार्न नगर भित्रका वडा अध्यक्षहरूलाई अनुरोध गरे । नगरप्रमुख सापकोटाले वडा अध्यक्ष र वडा सदस्यहरूलाई आफ्नो कार्यक्षेत्रमा खटेर जनताको सेवा गर्न निर्देशन पनि दिए ।

नगरसभामा चालु आर्थिक वर्षको हालसम्म कार्यपालिका तथा अन्य विषयगत समितिहरूबाट भएका निर्णयहरूका बारेमा जानकारी गराईएको थियो । सभामा सभाध्यक्ष सोमनाथ सापकोटाले आर्थिक वर्ष २०७७÷७८ को वार्षिक बजेट तथा कार्यक्रम ससोंधन प्रस्ताव, विद्यायन समिति सयोंजक नरेशराज खरेलले स्थानीय वन ऐन २०७७ सम्बन्धी विद्येयक, सभासदस्य नारायण सापकोटाले अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक ऐन प्रथम ससोंधन विद्येयक र संस्थागत विकास क्षमता अभिवृद्धि तथा सुशासन समिति सयोंजक भागीरथ खरेलले मुसिकोट नगरसभा र कार्यपालिकामा रहने समितिहरुको गठन तथा कार्य सञ्चालन नियमावली,२०७७ को मस्यौदा प्रस्तुत गरेका थिए ।
नगरसभाका सदस्यहरूले प्रस्तावित प्रस्तावहरू मध्ये केही ससोंधन र केही सर्वसहमतिले अनुमोदन गर्दै विगत ६ महिनाको प्रगति विवरणमा समीक्षा तथा विभिन्न जिज्ञासाहरू राख्नुका साथै स्थानीय सरकारले जनताले प्रत्यक्ष अनुभूति गर्न गरी काम गर्नुपर्नेमा जोड दिएका थिए ।

आठौ नगरसभाले गत वर्ष निर्माण सम्पन्न भएका योजनाहरुको बाँकी रहेका भुक्तानीलाई व्यवस्थापन गर्न विभिन्न शीर्षकमा झण्डै २ करोड रुपैयाँ रकमान्तर गरेको छ । उक्त रकमान्तरबाट गत वर्षको भुक्तानी दिने र केही अत्यावश्यक योजनाहरुको काम गर्ने बताईएको छ । त्यस्तै हिउँदे सभाले स्थानीय वन ऐन पनि निर्माण गरेको छ ।

सभामा सभाध्यक्ष सोमनाथ सापकोटाले प्रस्ताव गरेको बार्षिक बजेट तथा कार्यक्रम संसोधन प्रस्ताव माथि छलफल गर्दा नगरपालिकाको बहुउद्धेश्यीय सभाहल बनाउन प्रदेश सरकारबाट विनियोजित ५० लाख बजेट फ्रिज हुने अवस्था र नगरपालिकाबाट विनियोजित ५० लाख रुपैयाँ रकमान्तर गर्ने विषयमा सभाका सदस्यहरुले उठेर विरोध जनाएका थिए ।
सभा सदस्य प्रकाश काफ्लेले बहुउद्धेश्यीय सभाहल निर्माणका लागि जग्गा उपलब्ध हुँदा हुँदै, डिजाईन ईस्टीमेट भएर टेण्डर हुने अवस्थामा रहँदा रहँदै पनि बजेट फ्रिज गर्न खोजि जनतालाई धोका दिन खोजेको भन्दै उठेरै विरोध जनाए ।

उक्त बजेट फ्रिज हुन नहुने भन्दै सभामा अन्य सदस्यहरुले पनि विरोध जनाएका थिए । उक्त शिर्षकको रकमान्तर विषयमा छलफल पश्चात नगरपालिकाको बहुउद्धेश्यीय भवन मुसिकोट नगरपालिकाको वडा नं ६ ग्वादिकाचौरमा बनाउने र बजेट फ्रिज हुन नदिने गरी सहमती भएको छ ।

सभामा बोल्दै सदस्य चुरा बहादुर पछाईले पहिरो प्रभावित क्षेत्रका नागरिकको अनुगमन कमजोर बनेको भन्दै नगरपालिकाले अनुगमन र सुरक्षा निकायलाई परिचालन गर्ने विषयमा चनाखो रहन ध्यानाकर्षण गराए ।

त्यस्तै विष्णु बहादुर कुमाल र लक्ष्मण खरालले ससोंधित बजेटमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगीताका लागि विनियोजित बजेट रकमान्तर नगर्न आग्रह गरे । खेलकुदको क्षेत्रमा सीमित बजेट राखिएकाले कोरानाका कारण बीचमा खेलकुदका कार्यक्रमहरु आयोजना गर्न नसकिएपनि फाल्गुण सम्म मेयर कप लगायत अन्य खेलकुदका कार्यक्रम आयोजना गर्ने तयारी रहेकाले खेलकुदको रकम ससोंधन नगर्न आग्रह गरे ।

त्यस्तै सभा सदस्य कर्ण बहादुर क्षेत्री र नारायण सापकोटाले मुसिकोटमा रहेका केही सामुदायिक वनहरु लामो समय नविकरण नगरेको पाईएकाले त्यसको व्यवस्थापनका लागि एकजना रेञ्जरको आवश्यकता रहेको बताए ।
त्यस्तै सामुदायिक वनले १० प्रतिशत राजस्व नगरपालिकालाई बुझाउने प्रावधान कानुनत उल्लेख गर्न आग्रह पनि गरे । त्यस्तै सभासदस्य नारायण सापकोटाले वडाहरुलाई समानुपातिक ढगंले बजेट विनियोजन गर्न आग्रह पनि गरे । उनले बजेट बनाउँदा अत्यन्तै गम्भीर भई दिर्घकालीन सोँच राखेर बनाउन पनि आग्रह गरे ।

नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत खिमानन्द भुषालले नगरसभा सरकारका ३ महत्वपूर्ण अगंमध्ये व्यवस्थापिका रहेकाले व्यवस्थापकीय अधिकार अन्तर्गतका विषयहरु कानुन बनाउने, बजेट तथा कार्यक्रमहरु ससोंधन गर्ने लगायतका काम आठौँ नगरसभाबाट सम्पन्न भएको बताए ।

चालु आर्थिक वर्षका लागि सातौँ नगरसभाले पारित गरेका योजना तथा कार्यक्रम मध्ये व्यवहारिक हिसाबले कार्यान्वयन गर्न समस्या हुने र जसको कारणले भौतिक तथा वित्तिय प्रगती हासिल गर्न गाह्रो हुने भएकाले आठौँ नगरसभाले त्यस्ता केही बजेट तथा कार्यक्रम ससोंधन गरेको बताए । यसले नगरपालिकाको कार्यसञ्चालन प्रणाली प्रभावकारी हुने उनको भनाई छ । त्यस्तै उनले हालसम्म नगरपालिकाले निर्माण गर्न नसकेको स्थानीय वन ऐन पनि निर्माण गरेर महत्वपूर्ण कार्य गरेको उल्लेख गरे ।

SHARE