सामुहिक आलु खेतीमा रामपुरका युवा आकर्षित

0
337

सुशीला रेग्मी

रामपुर (पाल्पा), २० माघ :कोरोनाका कारण विश्वमा नै हरेक पेशा तथा व्यवसाय प्रभावित भएका अवस्थामा रामपुरका युवाले भने वैदेशिक रोजगारीको विकल्पमा व्यवसायिक आलु खेती रोजेका छन् ।
रामपुर नगरपालिका वडा नं ६ स्थित विजयपुरमा ट्वान्टी ट्वान्टी नामक समूह स्थापना गरी २० जना युवा सामूहिक आलु खेतीमा लागेका हुन् । वैदेशिक रोजगारमा रहदा कोरोनाको महामारी खेपेका युवा गाउँ फर्केपछि चुनौतीलाई अवसरमा बदल्दै आयआर्जनका लागि आलु खेती गरेका हुन् ।

यहाँका युवाले करिव एक सय रोपनी क्षेत्रफलमा जग्गा भाडामा लिएर आलु लगाएका छन् । ट्वान्टी ट्वान्टी समूहमा वैदेशिक रोजगारबाट गाउँ फर्केका, विभिन्न पेशा व्यवसायमा आबद्ध युवा मात्र आबद्ध छन् । आलु खेतीमा प्रोत्साहन गर्दै वडा कार्यालयले दश बोरा तथा कृषि ज्ञानकेन्द्र पाल्पाले एक सय बोरा जनकदेव र कार्डिनल जातको ५० प्रतिशत वीउ अनुदान उपलब्ध गराएको छ ।

अहिले युवाले सुरु गरेको आलु खेती अवलोकनयोग्य बनेको छ । एकै ठाउँमा ठूलो क्षेत्रफलमा आलु खेती फलेपछि हेर्न आउने, फोटो खिच्ने क्रम बढेसँगै यहाँ आन्तरिक पर्यटकको चहलपहल बढ्दो छ ।

कोभिड १९ को बन्दाबन्दीको समयमा जापानबाट गाउँ फर्कनुभएका युवा बद्री लम्सालले रामपुरको पहिचान बढाउन र आयस्रोत बृद्धिका लागि युवाहरू मिलेर सामूहिक खेती गरेको बताउँछन् ।

“कोभिडले पनि हामी युवामा एउटा उर्जा थपिदिएको छ, कोभिडको सङ्क्रमण नभएको भए विदेशमा नै भइन्थ्यो, अब गाउँमै बसेर काम र दामका लागि सामूहिक कार्य सुरु गरेका छौँ” – उनले भने ।

विदेशमा दैनिक आठदेखि दश घण्टाको समय काम गर्न बाध्य युवा अहिले घरपरिवारको साथमा रहेर स्वतन्त्र रुपमा काम गर्न पाउँदा उत्साहका साथ कृषि कार्यमा जुटेका छन् ।

कोभिड १९ ले विश्वव्यापी रुपमा स्वास्थ्यमा नराम्रो असर पारेपनि आँफूहरू जस्ता गाउँका युवालाई भने नयाँ कृषि कार्य गर्ने अवसर सिर्जना भएको कोरियाको रोजगारबाट फर्कनुभएका युवा सन्तोष देवकोटाले बताए ।

सबै क्षेत्रमा आबद्ध रहेका यहाँका युवाले सुरु गरेको सामुहिक आलु खेती नमुना बनेको छ । ब्लक क्षेत्र अन्र्तगत यहाँका विभिन्न महिला समुह, आमा समुह, कृषि समुहले पनि समुहमा आलु खेती गरेका छन् ।

सामुहिक कार्यले एक अर्काबीच अनुभव साटासाट गर्ने, नयाँ कुरा सिक्ने अवसर मिलेको आत्मनिर्भर महिला कृषक समुहका उमा भट्टराईको अनुभव छ । विजयपुर कृषि सहकारीले खेती लगाउने समयमा नै मल वीउ विजन उपलब्ध गराएकाले पनि कृषि कार्यमा कृषकलाई सजिलो परेको छ ।

एक सय रोपनी क्षेत्रफलमा करिव छ सय मेट्रिक टन आलु उत्पादन हुने वडा सदस्य तथा ट्वान्टी ट्वान्टी समूहका आलु लगाउने कार्यक्रम संयोजक यमबहादुर भुजेल बताउछन् । युवाले आलु खेतीका लागि वीउ अनुदान बाहेक करिव छ लाख बराबरको लगानी गरेका छन् ।

एकै वडाभित्र करिव एक हजार दुई सय रोपनी बढी क्षेत्रफलमा व्यवसायिक आलु खेती गरिएको छ । रामपुर नगरपालिका वडा नं ६ र कृषि ज्ञानकेन्द्र पाल्पाको सहयोगमा एकै ठाउँमा लगाइएको आलु फस्टाउन थालेको छ ।

नगरपालिकाको एक वडा एक उत्पादन कार्यक्रम अन्र्तगत वडा नं ६ ले बिगतका वर्षदेखि आलु खेतीलाई जोड दिएर वीउमा अनुदान उपलब्ध गराउँदै आएको वडा अध्यक्ष हुमनाथ न्यौपाने बताउछन् ।

रामपुर नगरपालिकाले पाँच लाख वजेटमा कृषि शाखा मार्फत नगरका कृषकलाई पाँच टन आलु ५० प्रतिशत अनुदानमा वितरण गरेको छ । आलु ब्लक क्षेत्र रहेको वडा नं ६ मा वडा कार्यालयमार्फत चार लाख वजेट सहयोगमा पाँच टन आलुको वीउ वितरण गरिएको छ ।

गतवर्ष रामपुर नगरपालिका भित्र करिव तीन हजार रोपनी क्षेत्रफलमा आलु खेती गरिएको थियो भने यसवर्ष करिव पाँच हजार रोपनीमा आलु लगाइएको छ । ब्लक क्षेत्र रहेकाले पनि यसवर्ष क्षेत्रफल थप गरी कृषकले आलु खेती गरेका छन् ।

यो वर्ष नगरपालिका भित्र करिव दुई हजार पाँच सय मेट्रिकटन आलु उत्पादन हुने अनुमान रहेको रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख रामहरी पाण्डेयले जानकारी दिए । रामपुर नगरपालिकाले एक वडा एक उत्पादन नीति अन्र्तगत वडा नं ६ लाई आलु पकेट क्षेत्रका रुपमा विकास गरिरहेको छ ।

रामपुर नगरपालिकामा तीन सय मेट्रिक टन क्षमताको शित भण्डार निर्माण भएकाले पनि भण्डारण गर्न अन्यत्र लैजानुपर्ने बाध्यता हट्ने हुदा आलु उत्पादनमा जोड दिएको कृषक यमकान्ती गौतमको भनाई छ ।

रामपुरमा सबैभन्दा धेरै वीउ आलु उत्पादन गर्ने कृषक गौतमले वर्षेनी दुई सय ५० बोरा वीउ आलु उत्पादन गर्छन । यो वर्ष पनि उन्नत जातको करिव १२ रोपनी क्षेत्रफलमा आलु खेती छ।
अहिले सम्म रामपुरमा उत्पादन भएको आलु वीउ भण्डारणका लागि भैरहवाको शित भण्डारमा जान्छ । यस पटक ४० हजार गाडी ढुवानी खर्च गरेर भैरहवा शित भण्डारणमा राखिएको वीउ आलु ल्याएर रामपुरका कृषकलाई वितरण गरिन्छ ।

पाल्पा जिल्लामै ठुलो क्षमता भएको शित भण्डार रामपुरमा निर्माण भएकाले यसवर्ष ढुक्कका साथ कृषकले खेती लगाएका छन् । अघिल्ला वर्षमा बाली उत्पादन भएपछि भण्डारणकै समस्याले पिरोल्ने गथ्र्यो ।

घरदैलोमा नै निर्माण भएको शित भण्डारणमा आलु राख्ने योजनाका साथ ठुलो क्षेत्रफलमा कृषकले खेती गरेका हुन् । यस पटक उत्पादन भएको आलु नयाँ शित भण्डारणमा राखेर सुरु गर्ने योजना रहेको रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य बताउछिन् । यहाँ ठुलो परिमाणमा आलु खेती हुने भएकाले कृषकलाई भण्डारण गर्न सहज हुनेछ ।

पाल्पाको रामपुर, रैनादेवी छहरा, तानसेनको अर्गली, बगनासकालीको दैलातुङफाँट, रम्भाको हुँगी, खोकखोला, पिपलडाँडा, तिनाउँ, पूर्वखोला र माथागढी गाउँपालिकाको केही क्षेत्रमा आलु खेती गरिएको छ ।

जिल्लामा सरदरमा वार्षिक करिव एघार हजार मेट्रिकटन आलु उत्पादन हुने गरेको छ भने प्रति हेक्टर उत्पादकत्व एघार मेट्रिकटन रहेको छ । यसवर्ष कृषि ज्ञानकेन्द्र पाल्पाको सहयोगमा रामपुर नगरपालिका वडा नं ६ मा आलु ब्लक कार्यक्रम सञ्चालन भएकाले करिव एघार हजार ६० मेट्रिक टन उत्पादन हुने अनुमान छ । जिल्लामा करिव एक हजार एक सय ५० हेक्टर क्षेत्रफलमा आलु खेती गरिदैछ ।

कोभिड १९ को सङ्क्रमणले गर्दा अघिल्लो वर्षको तुलनामा यो वर्ष क्षेत्रफल बढाएर कृषकले आलु खेती गरेको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याल बताउछन् ।
ठूलो क्षेत्रफलमा आलु खेती गर्ने कृषकलाई प्रोत्साहन स्वरुप अनुदान उपलब्ध गराएको उनको भनाई छ । ब्लक कार्यक्रम अन्र्तगत कार्यालयले पाल्पाको रामपुरमा करिव छ सय रोपनी क्षेत्रफलमा रु २३ लाख रुपैयाँ अनुदान सहयोग गरेको छ ।

“रामपुरमा यो वर्ष ठूलो क्षेत्रफलमा आलु खेती हुदैछ, सानो सानो क्षेत्रफलले व्यवसायीकरण नहुने हुदा कृषकलाई आयआर्जन बृद्धि गर्ने गरी ठूलो क्षेत्रफलमा गर्न कार्यालयले अनुदान सहयोग पनि गरिरहेको छ, कृषकले मापदण्ड अनुसार खेती गर्न चाहेमा कार्यालयले सहयोग गर्नेछ”,– प्रमुख अर्यालले भने ।

ज्ञानकेन्द्रको जिल्लाका दशवटै पालिकामा एक पालिका एक ब्लक कार्यक्रम यो वर्ष सञ्चालन भइरहेको छ । जसमा रामपुर नगरपालिकामा आलु खेती, निस्दी गाउँपालिकामा सुन्तला, पूर्वखोला र बगनासकाली गाउँपालिकामा अदुवा, माथागढी र तिनाउ गाउँपालिकामा धान, रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकामा तरकारी खेती र तानसेन नगरपालिकामा गाईपालन कार्यक्रममा छनौटमा परेको छ ।

रम्भा गाउँपालिका भने सुरुमा लिचिलाई ब्लकका रुपमा कार्यक्रम संचालन गर्ने बताएपनि लिचिको सट्टा अन्य बालीमा ब्लक कार्यक्रम गर्ने भएकाले त्यसको लागि बाली छनौट प्रक्रियामा नै रहेको कृषि ज्ञानकेन्द्र पाल्पाले जनाएको छ ।

SHARE