रामपुरमा फरक क्षमता भएका नागरिकलाई सम्मान

0
300

सुशीला रेग्मी

माघ १६,२०७७ पाल्पा : पाल्पाको रामपुर नगरपालिकामा फरक क्षमता भएका नागरिकलाई जीवन जिउँन प्रोत्साहन तथा हौसला प्रदान गर्न सम्मान गरिएको छ ।

शारीरिक तथा मानसिक रुपमा अशक्त नागरिकलाई रामपुर नगरपालिका वडा नं ५ को वडा कार्यालयको आर्थिक सहयोगमा जाडोको न्यानो कपडा फाइबर सिरकले सम्मान गरिएको हो ।

वडा अपाङ्गता हेरचाह तथा सहयोग समितिका अध्यक्ष युवराज रेग्मीको अध्यक्षतामा नहर अफिस बगैचामा कार्यक्रम गरी सम्मान गरिएको हो । फरक क्षमता भएका वडाका २० जना नागरिकलाई सम्मान स्वरुप एक÷एक वटा जाडोको न्यानो कपडा फाईबर सिरक कार्यक्रमका प्रमुख अतिथि रामपुर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष हिमाल मल्लले प्रदान गरे ।

फरक क्षमता भएका व्यक्तिलाई जिवन जिउन हौसला प्रदान गर्दै वडाले थोरै भएपनि वजेट विनियोजन गर्दै आईरहेको वडा अध्यक्ष मल्लले बताए । उनले शारीरिक तथा मानसिक रुपमा अशक्त भएका व्यक्तिलाई माया र सद्भाव तथा एक अर्काको सहयोग अपरिहार्य रहने भएकाले परिवार, आफन्तले बिशेष हेरचाह, लालनपालनमा ध्यान दिनुपर्ने बताए ।

कार्यपालिका सदस्य तथा वडा सदस्य सावित्रा गौतमले कोही जन्मजात कोही जन्मिसकेपछि विविध कारणले अशक्त बन्नुभएका नागरिकलाई वडा तथा नगरपालिकाले विभिन्न कार्यक्रम संचालन गरिरहेको जानकारी दिइन् ।
कार्यक्रम संचालन नवदुर्गा माविका प्रधानाध्यापक भानुभक्त न्यौपानेले गरेका थिए । विपन्न, जनजाति, अशक्त नागरिकलाई प्राथमिकता दिएर न्यानो कपडा वितरण गरिएको वडा सदस्य काशिनाथ रेग्मीले जानकारी दिए । वडाले गरेको यस कार्यक्रम धेरै राम्रो लागेको फरक क्षमता भएका गिता कंडेलले खुशि हुदै वडा कार्यालय तथा समितिलाई धेरै धेरै धन्यवाद दिइन् ।

SHARE