तरकारी लिन घरमै रेसुंगा नगरपालिकाको गाडी पुगेपछि …….

0
338

हुमाकान्त पोखरेल
पुस १,२०७७ गुल्मी : मंगलबार बिहान करिब ८ः३० बजे । गुल्मीको रेसुङ्गा नगरपालिका –१० सिमिचौरकी भगभता कुँवर हातमा खुर्सानी लिएर सिमिचौरको बासखर्क भन्ने स्थानमा आइन । त्यहाँ उनको खुर्सानी लिन रेसुङ्गा नगरपालिकाको गाडी पुगेको थियो । खुर्सानी जोख्दा आधा केजि भयो ।
नगरपालिकाले तोकेको दरअनुसार आधा केजि खुर्सानीको उनले ७० रुपैँया पाउने भइन् । ‘खुर्सानी, केराउका मन्टा, रायो साग, पिडालु लगायतका तरकारी नगरपालिकाले खरिद गरिदिन्छ ।’ उनले भनिन्, ‘तरकारीको रकम पनि केही दिनपछि घरमै आउछ ।’ यहि हिसाबले आफुहरुले तरकारी बिक्रि गरे मासिक पाचँ हजारसम्म आम्दानी हुने उनको भनाई छ ।
घरमा भएको सबै कृषि उपज नगरपालिकाले खरिद गरिदिदा एकातर्फ कहिल्लै विक्रि नहुने तरकारी बिक्रि भएको र अर्कोतर्फ आम्दानीको राम्रो स्रोत भएको उनले बताइन् । श्रीमान रोजगारीको लागि विदेशमा भएपनि घरमा आफु र छोरीको खर्च चलाउन श्रीमानको आश गर्नुनपर्ने उनको अनुभव छ । नगरपालिकाको गाडी नआए आफु डोकोमा बेच्न नहिड्ने भएकोले पनि थप सुविधा भएको उनले बताइन् ।
भगभता मात्र होइन्, सोही ठाउँकै मिना पाण्डे पनि नगरपालिकाले उत्पादित सबै कृषि उपज खरिद गरिदिने भएपछि खुसि छिन् । गाडी आउदा प्रत्येक पटक थोरै भएपनि तरकारी विक्रि गर्ने र त्यसबाट घरखर्च चलाउन सहज भएको उनको बुझाई छ । ‘पहिले पहिले एक पाउ तरकारी बोकेर बजारमा बेच्न जाने थिएनम् ।’ उनले भनिन्, ‘अहिले गाउँमा आएको गाडीले जति थोरै वा धेरैपनि तरकारी लैजान्छ ।’ पिडालुलाई प्रतिकेजि ५०, अदुवालाई प्रतिकेजि ९० रुपैँयामा बिक्रि हुने उनले बताइन् । पिडालु, गिठाजस्ता कहिल्लै बिक्रि नहुने तरकारी र फलफुलजन्य उपज पनि नगरपालिकाले खरिद गरिदिदाँ आफुहरु खुसि भएको उनले बताइन् ।
कुँवर र पाण्डे त प्रतिनिधिमुलक पात्र मात्रै हुन् । रेसुङ्गा नगरपालिकाले हाटबजार संचाल गरी कृषकले उत्पादन गरेका कृषि उपजको बजारको ग्यारेन्टी गरेपछि कृषकहरु लाभाम्बित भएका छन् । नगरपालिकाले ०७६ बाट हाटबजार सुरु ग¥यो । तर कोरोना माहामारी सुरु भएसँगै गत चैतबाट बन्द भएको थियो । त्यसको नौ महिनापछि गत पुष बाट हाटबजार संचालनमा आयो । जसले गर्दा कृषकहरुले उत्पादन गरेको कुनै पनि कृषि उपजको बजारको ग्यारेन्टी भएको छ । नगरपालिकाले समय मिलाएर रेसुङ्गा नगरपालिकाका वडा नम्बर ४ अर्खले, १० सिमिचौर, धुर्कोट गाउँपालिका तथा अर्घाखाँचीको ढिकुरासम्म पुगेर कृष उपज संकलन गरी हाटबजारमार्फत बिक्रि गर्छ । नगरपालिकाभन्दा बाहिरका कृषकहरुलाई तत्कालै र नगरभित्रका कृषकहरुलाई तत्कालै वा केही दिनपछि भुक्तानी दिने गर्दछ ।
बाँसखर्ककै सुमित्रा पाण्डेका श्रीमान वैदेशिक रोजगारीमा छन् । घरमा दुई छोरी आफुको खर्च तरकारी बिक्रिबाटै जुटाउने उनले बताइन् । पहिले–पहिले डोकोमा बोकेर बजारसम्म तरकारी बेच्न हिड्ने पाण्डेको घरमा अहिले तरकारी लिन घरमै गाडी आउछ । जसले गर्दा समयको बचत, सबै तरकारी बिक्रि भएको तथा तत्काल भुक्तानी पाइने जस्ता फाइदा रहेको उनले सुनाईन् । ‘निर्वाचनमा नेताहरुले भोट माग्दा आश्वासन देखाएका थिए, तर विश्वास लागेको थिएन ।’ उनले भनिन्, ‘अहिले नसोचेको काम स्थानीय सरकारले गरेको छ ।’ यसरी तरकारी खरिद गर्न नगरको गाडी टोल–टोलमै पुग्छ भन्ने आफुले कहिल्लै नसोचेको बताइन् । डोकोमा बोकेर तरकारी लैजादा व्यापारीहरुका अनेक थरिका भनाई सुन्नुपरेपनि अहिले सम्मानजनक रुपमा तरकारी बिक्रि हुने र उत्पादन गर्न हौसला मिलेको उनको अनुभव छ ।
स्थानीय ५१ बर्षिया खेत बहादुर कुँवरले तरकारी खेतीको लागि पानीको समस्या भएको बताए । पानी भए आफुहरुले जति पनि तरकारी उत्पादन गर्ने बताउँदै उनले सिँचाईको व्यवस्था मिलाइदिन आग्रह गरे ।
कृषहरुले उत्पादन गरेको कृषि र कृषिजन्य सामग्रीहरुलाई हाबजारमार्फत उपभोक्तासम्म पु¥याउने उदेश्यले रेसुङ्गा नगरपालिकाले हाटबजारको संचालन गरेको हो । नगरपालिकाका कृषि शाखा प्रमुख हरिशरण पन्थीका अनुसार तम्घास चारिखोलामा रहेको हाटबजार प्रत्येक दिन दिउँसो १ बजेपछाडी संचालनमा आउछ । हाटबजारमा अहिले विभिन्न स्थानमा उत्पादन भएका स्थानीय तरकारीजन्य सामग्रीहरु खरिद बिक्रि हुन्छ । लोकल कुखुरा, लोकल अण्डा, प्याज, टमाटर, गाजर, आलु, पिडालु, अदुवा, बन्दागापी, गाजर, धनिया लगायतका ३३ प्रकारका स्थानीय उत्पादन पाइन्छन् । तरकारीको दर प्रत्येक दिन फरक–फरक हुन्छ । औषतमा सागको मुठा तीन रुपैँया, अदुवा प्रति केजि ९०, टमाटर प्रति केजि ५५ , प्याज प्रति केजि ८० लगायतको दरमा खरिद तथा बिक्रि भइरहेको कृषि शाखा प्रमुख पन्थीले बताए ।
हाटबजारमा तरकारी किन्न पुगेकी रेसुङ्गा नगरपालिका १ की आरुसी खनालले हाटबजार संचालन हुँदा आफुहरुलाई सहज भएको बताइन् । रेसुङ्गा नगरपालिकाका मेयर डिल्लिराज भुसालले हाटबजारलाई थप व्यवस्थित बनाउन जिल्ला तथा जिल्ला बाहिरका पालिकाहरुसँग समन्वय भइरहेको जानकारी दिए । कृषि र पशुपालनमार्फत रोजगारको सिर्जना गर्ने लक्ष्य लिएकोले नगरपालिकाले आवश्यव लगानी गने बताए ।

SHARE