महरालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

0
384

काठमाण्डौ – निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाण्डौले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाण्डौका न्यायाधीश दिपककुमार दाहालको इजलासले यसअघिको १० दिन र अहिले थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई यौन दुर्व्यवहारको आरोपमा गएको १९ गते सरकारी निवासबाटै महरालाई प्रहरीले पक्राउ गरेको थियो । दशैँका बेला पक्राउ परेका महरालाई अदालतको नियमित काम सुरु भएसँगै मंगलबार म्याद थपका लागि अदालत लगिएको थियो ।

आफूमाथि बलात्कार प्रयास भएको भन्दै महानगरीय प्रहरी वृत्त वानेश्वरमा पीडित महिलाले किटानी जाहेरी दिएपछि प्रहरीले निवर्तमान सभामुख महरालाई पक्राउ गरेको थियो ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएका महराको स्वास्थ्य खराब भएपछि नर्भिक अस्पतालको क्याबिनमा राखेर उपचार भइरहेको छ । प्रहरीले म्याद थपका लागि अस्पतालबाटै महरालाई जिल्ला अदालत काठमाण्डौ लगेको थियो ।

महराले आफूलाई जबर्जस्ती गरेको भन्दै महिलाको भिडियो सार्वजनिक भएपछि सभामुख पदबाट राजीनामा दिन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सुझाव दिएको थियो । त्यसलगत्तै महराले सभामुख पदबाट राजीनामा दिएका थिए ।

प्रहरीले पक्राउ गरेसँगै महराको सांसद पद पनि निलम्बनमा परेको छ ।

उज्यालो अनलाईनबाट

SHARE